काठमाडौं । पर्वतारोहणमा आउने पर्यटकमार्फत नेपालमा कारोना नफैलियोस भन्ने उद्देश्यले सरकारले सचेतना बढाएको छ । बसन्त ऋतुमा हुने पर्वतारोहणमा सरकारले कडा नियम ल्याएको छ ।
पर्यटन विभागका अनुसार आरोहीले पर्वतारोहण अनुमति पत्र लिनु अगाडि गरेको १४ दिनको यात्रा विवरण पेश गर्नुपर्ने भएको छ । यसको व्यवस्थापन भने ट्राभल एजेन्सीले गर्नेछ ।
अहिले विश्वभर कोरोनाको संक्रमण फैलिएको छ र विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि व्यक्तिमा कारोना भाइरस संक्रमण भएको २ देखि १४ दिनमा देखिन सक्ने बताइन्छ ।
आरोहीहरु कोरोना प्रभावित मुलुक भएर आए नआएको थाहा पाउन यसो गर्न लागिएको हो । त्यसरी आएको भए उनीहरुमा जोखिमको समेत विश्लेषण गर्न सकिने हुन्छ ।
आरोही र पर्वतारोही दलका सम्पूर्ण सदस्यको स्वास्थ्य रिपोर्ट आरोहण व्यवस्थापन गर्ने सम्बन्धित ट्राभल एजेन्सीले अनलाइनमार्फत विभागमा बुझाउनु पर्ने नियम ल्याइएको छ ।
त्यसलाई विभागले स्वीकृत गरेपछि मात्र आरोहण अनुमति जारी हुने भएको छ । पर्वतारोही दलले पर्वतारोहणबाहेक अन्य गतिविधि गर्ने भएमा पर्यटन विभागमा पूर्व जानकारी दिनुपर्ने भएको छ ।
पर्वतारोही दलले पर्वतारोहणमा प्रयोग गर्न लैजाने सम्पूर्ण सामग्रीको सूचि पनि विभागमा उपलब्ध गराउनु पर्ने गरि नियम तोकिएको छ ।
आरोही दलसम्बद्ध पर्वतारोहण दलका साथमा जाने आरोहीको बीमा गर्दा उसको जुन भूमिका हो, त्यो खुलाउनुपर्छ ।
नभए आरोहण प्रमाणपत्र जारी नहुने विभागले जानकारी गराएको छ । नेपालमा आरोहणको मूख्य सिजन नै वसन्त ऋतु हो । यसबेला सगरमाथा आरोहणका लागि ठूलो संख्यामा पर्यटक आउने गर्छन् ।