काठमाडौं । सरकारले पर्यटक भिसा रोक्ने भएको छ । बिहीबार उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।
तर, कहिलेबाट कहिलेसम्म रोक्ने र कुन मुलुकका नागरिकलाई रोक्ने भन्ने बारेमा भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले निर्णय गर्ने भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि पहिलो पटक उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।
बैठकले तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको छ । भारततर्फ आवतजावत गर्न सिमित मात्र नाका खोल्ने भएको छ ।
सो प्रयोजनका लागि भने भारत सरकारसँग समेत समन्वयको आवश्यकता पर्नेछ । यसको जिम्मा परराष्ट्र मन्त्रालयलाई दिइएको छ ।
बैठकले संक्रमण देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसन वार्डका साथै स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि चाहिने उपकरणको आपूर्ति बढाउने निर्णय गरेको छ ।
सम्भव भएसम्म घनाबस्ती भन्दा पर यस्ता संरचनाको व्यवस्था हुने छ ।
आवश्यक परे सैनिक परिचालनको योजनामा समेत नेपाल सरकार रहेको छ ।
स्वास्थ्य जनशक्तिका लागि मेडिकल कलेजका साथै स्काउटलगायत संघ संस्थाबाट पनि स्वयमसेवक खटाउन सकिने अर्थमन्त्री डा. युवराज खतिवडाले बैठकपछि जानकारी दिए ।
नेपालमा कोरोनाको संक्रमण नदेखिएका कारण यो सबै काम पूर्वतयारी स्वरुप नै भएको उनको भनाई छ । उच्चस्तरीय समन्वय समितिको बैठकले यस सिजनका लागि हिमाल आरोहण पनि स्थगित गर्ने निर्णय गरेको छ । विद्यालय तथा कलेज भने बन्द हुने छैनन् ।