नारी दिवस: अधिकारदेखि आत्मसम्मानसम्मको यात्रा

प्रत्येक वर्ष मार्च ८ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय नारी दिवस’ (महिला श्रमिक दिवस) मनाइन्छ। मार्च महिना Women’s History Month को रूपमा मनाइने भएकाले यस महिनाभर महिलाको इतिहास, संघर्ष र उपलब्धिलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। यस वर्ष २०२६ मा “Give to Gain” मूल नाराका साथ विश्वभर नारी दिवस मनाइँदैछ। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले यस दिवसलाई अर्थपूर्ण र प्रभावकारी रूपमा मनाउन व्यापक तयारी गरिरहेका छन्।

इतिहासको ऐना र वर्तमानको पदचाप:
हामीले कुनै पनि अभियानको उत्सव मनाउँदा त्यसको जग र इतिहासलाई बिर्सनु हुँदैन। मानव सभ्यताको प्रात:कालदेखि नै महिलाहरूले पुरुषसरह श्रम गर्दै आएता पनि श्रमको उचित मूल्य नपाउनु, पुरुषको तुलनामा न्यून ज्याला र अत्यधिक कार्यघण्टाको मारमा पर्नुले महिलाहरूमा विद्रोहको चेतना जागृत गरायो। यही अन्याय र असमानताविरुद्ध आवाज उठाउँदै महिलाहरूले सन् १९०० को आसपासबाट आफ्ना अधिकारका लागि संगठित आन्दोलन प्रारम्भ गरेका थिए। जर्मन समाजवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपनहेगनमा भएको समाजवादी महिला सम्मेलनमा “अन्तर्राष्ट्रिय महिला दिवस” मनाउने प्रस्ताव राखेपछि सन् १९११ देखि विभिन्न देशहरूमा यसको औपचारिक शुरुवात भएको थियो।

नेपाली सन्दर्भ: उपलब्धि र चुनौतीको दोभान
नारी सशक्तीकरणको यो यात्रामा विश्वका महिलाहरू धेरै अगाडि बढिसकेका छन्। तर नेपाली समाजको दर्पण हेर्ने हो भने यो चित्र अझै धुमिल छ। आज पनि हाम्रा दिदीबहिनीहरू घरेलु हिंसा, बलात्कार, हत्या र आत्महत्या जस्ता जघन्य अपराध र कुरीतिको चक्रव्यूहबाट मुक्त हुन सकेका छैनन्। देशमा मात्र नभएर परदेशमा रहेका नेपाली महिलाहरू समेत यस्ता पीडाबाट अछुतो नरहेको यथार्थ हाम्रा सामु छ। केही वर्षअघि सम्म नेपालमा दाइजो वा अन्य बहानामा चेलीबेटीलाई ‘जलाइने’ वा ‘झुन्ड्याइने’ गरिन्थ्यो । आज पनि केही दिदीबहिनीहरूलाई विभिन्न निहुँमा स्वयं जल्न वा झुन्डिन बाध्य बनाइएका दुःखद घटनाहरू प्रायः दिनहुँजसो सार्वजनिक भइरहेका छन्। दुःखको कुरा, यस्ता घटना घट्दा हामी सामाजिक सञ्जालमा ‘हार्दिक श्रद्धाञ्जली’ लेखेरै आफ्नो कर्तव्य पूरा भएको ठान्छौँ। त्यसै गरि हाम्रो समाजको संकुचित सोचले आजको २१औं शताब्दीमा पनि हिंसा सहेर बाँच्नुभन्दा मर्नुलाई नै ‘निकास’ देख्ने प्रवृत्तिलाई मलजल गरिरहेको छ।

सोच बदल्ने बेला:
हिंसाको चपेटामा परेका चेलीहरूको आत्मबल टुट्नु र उनीहरूले मृत्यु रोज्नुमा हामी सबै कुनै न कुनै रूपमा जिम्मेवार छौँ। पीडितलाई सहानुभूति र मनोपरामर्श दिएर समाजमा पुनस्र्थापित गर्नुको सट्टा, हामी उनीहरूमै दोष खोज्न थाल्छौँ, जसले उनीहरूको मनोबल झन् गिराउँछ। सोचौँ, आज अरू कसैको घरमा घटेको घटना भोलि हाम्रो आफ्नै घरमा पनि दोहोरिन सक्छ, किनकि हरेक घरमा कुनै न कुनै रूपमा नारीको उपस्थिति हुन्छ। त्यसैले नारीप्रतिको सोच र व्यवहार परिवर्तन गर्नु आजको आवश्यकता हो।

तथ्याङ्कले भन्छ, यस्ता हिंस्रक घटनामा अक्सर नजिकका साथी, पार्टनर वा आफन्तहरूकै संलग्नता बढी हुन्छ। यो हाम्रो समाजका लागि निकै लज्जास्पद कुरा हो।

नेतृत्वमा महिला: अझै कति टाढा?
११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा पनि महिलालाई नेतृत्वदायी र निर्णायक भूमिकामा सहर्ष स्वीकार गर्न सक्ने उदारता समाजमा अझै विकास भइसकेको छैन। नेतृत्वमा पुगेका केही महिलाहरू पनि राजनीतिक आस्था, जातीयता र अन्य साँगुरो घेरामा विभाजित हुनु दुःखद छ।

एक सर्वेक्षण अनुसार लैङ्गिक समानता पूर्ण रूपमा हासिल गर्न अझै पाँच पुस्ता निरन्तर सङ्घर्ष गर्नुपर्ने देखिन्छ। यो अभियान केवल सभा-सम्मेलनमा मात्र सीमित नभई आफ्नै घरबाट सुरु हुनुपर्छ। पुरुषले महिलाको सम्मान गर्ने, उनीहरूको नेतृत्वलाई स्वीकार्ने र निर्णायक तहमा सहभागिता सुनिश्चित गर्न भेदभाव नगरी हातेमालो गर्नु नै वास्तविक परिवर्तन हो। महिलाहरूले पनि आफ्नो व्यक्तित्व विकासका लागि विभिन्न तालिम र अवसरमा सहभागी हुन र सशक्तीकरणको मार्गमा हिँड्न हिचकिचाउनु हुँदैन।

निष्कर्ष:
जुन घर, समाज र राष्ट्रमा नारीको सम्मान हुँदैन, त्यहाँ कहिल्यै शान्ति र समृद्धि छाउँदैन। महिला आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक रूपमा सक्षम हुनु नै राष्ट्र विकासको मेरुदण्ड हो। भर्खरै नेपालको अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यूले छोटो समयमा र शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गराएर “महिलाले अवसर पाए पुरुषभन्दा उत्कृष्ट कार्य गर्न सक्छन्” भन्ने ज्वलन्त उदाहरण पेस गरिसक्नुभएको छ।

यस वर्ष गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका ले ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०२६ को अवसरमा “GIVE TO GAIN” भन्ने मूल नाराका साथ घरेलु हिंसा, मानसिक स्वास्थ्य, आप्रवास र सांस्कृतिक जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गर्दैछ।

यस कार्यक्रममा यहाँहरू सम्पूर्णलाई महिला सशक्तिकरणको अभियानलाई अझ सशक्त बनाउन साथ र समर्थनका साथ सहभागी हुन म हार्दिक अनुरोध गर्दछु।

Date: Saturday, March 7th, 2026
Time: 1:00pm- 5:00pm
Venue: 75-15 Woodside Ave,
Elmhurst, NY 11373

लक्ष्मी थापा
सचिव
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्
संयुक्त राज्य अमेरिका ।

११६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना ।