होर्मुज बन्दः विश्व बजारमा दबाब

An international low coast FlyDubai aircraft prepares for landing as a smoke plume rises from an ongoing fire near Dubai International Airport in Dubai on March 16, 2026. Flights were gradually resuming at Dubai airport on March 16, previously the world's busiest for international flights, the airport operator said, after a "drone-related incident" sparked a fuel tank fire nearby, as Iran kept up its Gulf attacks. (Photo by AFP) /

तेहरान, ३ चैत (रासस–एएफपी) । इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्व ऊर्जा बजारमा तीव्र दबाब देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नाटोका साझेदार राष्ट्रहरू तथा चीनलाई उक्त जलमार्ग पुनः सञ्चालनमा ल्याउन सहयोग गर्न आग्रह गरेका छन् । अमेरिका–इजरायलसँग जारी युद्धको प्रतिउत्तरस्वरूप इरानले खाडी क्षेत्रको यो प्रमुख जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य एकाएक ४० देखि ५० प्रतिशतसम्म उक्लिएको छ । युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कच्चा तेलको मूल्य सोमबार करिब १०० डलर आसपास पुगेको देखिएको छ । इजरायलले इरानभित्र अझै पनि ‘हजारौँ लक्ष्य’ रहेको दाबी गर्दै दैनिक रूपमा नयाँ लक्ष्य पहिचान गरिरहेको जनाएको छ ।

ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँग वार्तामा रहेको भए पनि तेहरान तत्काल युद्ध अन्त्य गर्ने सहमतिमा पुग्ने अवस्थामा नदेखिएको बताए । “मलाई लाग्दैन उनीहरू अहिले तयार छन्, तर उनीहरू निकै नजिक आइपुगेका छन्”, उनले भने । यसअघि इरानका विदेशमन्त्रीले भने वासिङ्टनसँग कुनै पनि प्रकारको वार्ता अस्वीकार गरिएको बताएका थिए ।
अमेरिकी राष्ट्रपतिले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतजस्ता देशहरूलाई स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूको सुरक्षाका लागि नौसैनिक जहाज पठाउन आग्रह गरेका छन् । फाइनान्सियल टाइम्ससँग कुरा गर्दै उहाँले स्ट्रेट अफ होर्मुजबाट लाभ लिने देशहरूले त्यस क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन सहयोग गर्नु उचित हुने बताए । संयुक्त राज्य अमेरिकाको तुलनामा युरोपेली देशहरू र चीन खाडी क्षेत्रबाट आउने तेलमा धेरै निर्भर रहेका छन् ।

बेइजिङले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनका प्रयासमा सहयोग नगरे चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यस महिनाको अन्त्यमा हुने तय गरिएको शिखर सम्मेलन स्थगित हुन सक्ने चेतावनी पनि ट्रम्पले दिएका छन् । उनले आफ्नो आग्रह अस्वीकार भएमा त्यसले नाटोको भविष्यका लागि पनि नकारात्मक प्रभाव पार्न सक्ने बताए । तर जापान र अस्ट्रेलियाले भने अहिलेका लागि सैनिक तैनाथ गर्ने योजना नभएको स्पष्ट पारेका छन् ।

यसैबीच इरानले अन्य देशहरूलाई मध्यपूर्वमा फैलिएको युद्धमा प्रत्यक्ष रूपमा संलग्न नहुन चेतावनी दिएको छ । फ्रान्सका विदेशमन्त्री जिन–नोएल बारोटसँगको टेलिफोन संवादमा इरानका विदेशमन्त्री अब्बास अराघचीले द्वन्द्वलाई थप विस्तार गर्ने कुनै पनि कदमबाट टाढा रहन आग्रह गरेका छन् । उनले क्षेत्रीय सुरक्षाका नाममा अमेरिकी सैन्य उपस्थितिले समस्या समाधान गर्नुको सट्टा तनाव बढाइरहेको आरोप लगाए । छिमेकी देशहरूलाई ‘विदेशी आक्रमणकारीलाई बाहिर निकाल्न’ आह्वान गरे ।
युद्धसँगै इरानले अमेरिकी सेना रहेको मध्यपूर्वका विभिन्न स्थानमा आक्रमण तीव्र बनाएको छ । इटालीको सेनाले कुवेतस्थित अली अल सलेम एयरबेसमा भएको ड्रोन आक्रमणमा इटालीको मानवरहित विमान नष्ट भएको तर मानवीय क्षति नभएको जनाएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले घटनालाई कम महत्त्व दिँदै आफ्नो देश कसैसँग युद्धमा नरहेको स्पष्ट पारे ।
इराकी अधिकारीहरूका अनुसार बगदाद अन्तर्राष्ट्रिय विमानस्थलस्थित अमेरिकी कूटनीतिक सुविधा नजिकै रकेट प्रहार हुँदा पाँच जना घाइते भएका छन् । उता इरानको रिभोलुसनरी गार्ड्सले हालसम्म अमेरिका र इजरायलसँग सम्बन्धित लक्ष्यहरूतर्फ करिब ७०० मिसाइल र तीन हजार ६०० ड्रोन प्रहार गरिएको दाबी गरेको छ ।

साउदी अरेबियाले पनि सोमबार मध्यरातयता ६० भन्दा बढी ड्रोन रोकेको जनाएको छ । दुबई विमानस्थल नजिक ड्रोनसँग सम्बन्धित घटनापछि आगलागी हुँदा केही समयका लागि उडान स्थगित गर्नुपरेको थियो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने इराकको कुर्दिस्तान क्षेत्रमा इरानी डिजाइनको ड्रोन आक्रमणमा फ्रान्सेली सैनिक मारिएपछि फ्रान्सका हितमाथि भएको आक्रमण अस्वीकार्य भएको बताएका छन् ।
यसबीच द्वन्द्व लेबनानसम्म फैलिएको देखिएको छ । इजरायलले बेरुतको दक्षिणी उपनगरहरूमा नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ । ऊर्जा बजारमा भने आपूर्ति सङ्कट टार्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट करिब ४० करोड ब्यारेल तेल बजारमा पठाउन सुरु गर्ने निर्णय गरेको जनाएको छ । एसिया–ओसिनिया क्षेत्रका देशहरूले तत्काल भण्डार उपलब्ध गराउनेछन् भने युरोप र अमेरिकाले आगामी हप्तामा त्यसलाई पछ्याउने अपेक्षा गरिएको छ ।

मध्यपूर्वबाट आउने तेलमा ९५ प्रतिशत निर्भर रहेको जापानले आफ्नो सरकारी राजपत्रमार्फत देशको तेल भण्डार स्तर घट्दै गएको सूचना जारी गरेको छ । यस कदमले भण्डार व्यवस्थापकहरूलाई केही तेल बजारमा छोड्न बाध्य पार्नेछ । स्ट्रेट अफ होर्मुज बन्द भएपछि विश्वका विभिन्न देशमा त्यसको प्रभाव देखिन थालेको छ । अस्ट्रेलियाका अधिकारीहरूले मूल्य वृद्धि र हडबडाहटमा किनमेल नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । भारतमा भने आयात अवरोधका कारण रेस्टुरेन्टहरूले खाना पकाउने ग्यास बचत गर्न मेनु परिवर्तन गर्न थालेका छन् ।

सिड्नी नजिकै बस्ने ल्यान्डस्केपर एम्मा फुटर्लेबले इन्धन महँगिएपछि आफ्नो बजेटमा दबाब परेको बताए । “यसले हाम्रो खर्चमा सीधा असर गरेको छ”, उहाँले भने ।
उता तेहरानमा भने युद्ध सुरु भएको केही दिनपछि जीवन क्रमशः सामान्य बन्न थालेको देखिएको छ । गत हप्ताको तुलनामा सहरमा यातायात चहलपहल बढेको छ र केही क्याफे तथा रेस्टुरेन्ट पुनः सञ्चालनमा आएका छन् । फारसी नयाँ वर्ष नौरुज नजिकिँदै गर्दा लोकप्रिय ताजरिश बजारका धेरै स्टलहरू खुल्न थालेका छन् । नगद निकाल्न एटीएमहरूमा लामो लाइन देखिएको छ भने देशकै ठूलो बैंक मेलीको अनलाइन सेवा केही दिनदेखि अवरुद्ध भएको जनाइएको छ ।

राजधानी बाहिरका क्षेत्रहरूमा पनि समान अवस्था देखिएको छ । क्यास्पियन सागर किनारको मजन्दरान प्रान्तस्थित टोनेकाबोन सहरका ४९ वर्षीय अलीले पसलहरू खुला र भीडभाड रहेको बताए । यद्यपि मूल्य बढेको अनुभव भइरहेको उनको भनाइ छ । उनका अनुसार मुख्य चोक भने हरेक रात बन्द गरिन्छ र सरकारी प्रदर्शनहरू आयोजना भइरहेका छन् । बाह्य इन्टरनेट सेवा बन्द भएकाले देशभित्रको इन्ट्रानेट मात्रै चलिरहेको बताइएको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिका र इजरायलका आक्रमणबाट हालसम्म एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको छ, यद्यपि यो तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले इरानभित्र करिब ३२ लाख मानिस विस्थापित भएको जनाएको छ ।