काठमाडौं । लामो समयदेखि प्रतिक्षारत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अब निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने आयोजनाले जनाएको छ ।
आयोजनाले एक सूचना प्रकाशित गरी आयोजनाको परिक्षण गर्न लागिएका कारण नदी किनारमा सचेत हुन आह्वान समेत गरिएको छ ।
यो आयोजनाको कूल भौतिक प्रगति ९९ दशमलव तीन प्रतिशत पुगिसकेको छ । अब आयोजना अन्तर्गत प्रमुख संरचनाको परीक्षण गर्न लागिएको आयोजनाले उल्लेख गरेको छ । यो आयोजना स्वदेशी लगानीमा बनेको हो ।
आयोजनाको क्षमता भने ४५६ मेगावाट हो । आयोजनाको प्रमुख संरचनामध्ये बाँधस्थलको अवस्था पत्ता लगाउन पानी भर्ने तयारी छ ।
बाँधमा पानी जम्मा गरेर संरचनाको परीक्षण गर्न लागिएको हो । आयोजनाका अनुसार सोमबारदेखि चार दिनसम्म बाँध, मुहान गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिनेछ । आयोजनाले आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।
अहिले मुख्य सुरुङमा अन्तिम चरणको ढलानको काम भइरहेको छ । सबैभन्दा कठिन मानिएको ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम पनि भइरहेको आयोजनाले जनाएको छ ।