आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

प्रधानन्यायाधीश राउतद्वारा दाङ जिल्ला अदालतको निरीक्षण दाङ, ३ चैतः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत मङ्गलबार दाङ जिल्ला अदालतको निरीक्षण गर्नुहुँदै । तस्बिरः कुलदीप न्यौपाने÷रासस

दाङ, ३ चैत । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर छिटोछरितो, सहज, सुलभ, न्यायोचित तरिकाले न्यायसम्पादन गर्न निर्देशन दिएका छन् । उच्च अदालत तुलसीपुरको आज अवलोकन तथा निरीक्षणपश्चात् उपस्थित न्यायाधीश, कानुन व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिँदै उनले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । प्रधानन्यायाधीश राउतले भने, “हामी खरानी भएको ठाउँबाट उठेर काम गरिरहेका छौँ । अब हामी सबै बदलिएर एउटा अठोटका साथ अपेक्षाकृत काम गर्न लाग्नुपर्ने छ ।”

उनले जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अस्थायी रूपमा निर्माण गरिएको उच्च अदालतको कार्यालय भवन, इजलाश कक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरे । त्यस अवसरमा प्रधानन्यायाशीध राउतले आगामी आर्थिक वर्षमा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन हुने बताए ।

उनले नवयुवाको आन्दोलनका क्रममा अदालत भवन, सवारीसाधनलगायत सम्पूर्ण संरचना ध्वस्त भए पनि अभिलेख जोगिएकामा खुसी व्यक्त गर्दै अब संरचना निर्माणलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीले अदालतको भवन जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि कार्यालय परिसरको गाडी ग्यारेजमा अस्थायी इजलाश निर्माणगरी न्यायसम्पान भइरहेको जानकारी दिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताललगायत वक्ताहरूले विषम परिस्थितिमा अदालतले न्यायसम्पादन गरिरहेको भन्दै प्रशंसा गरे ।