काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राख्दै तयारी तिब्र बनाएको छ ।
उक्त भाइरसका कारण मानिस संक्रमित भएमा तत्काल उपचारको व्यवस्था गर्न सरकारले २३५ आईसीयू बेड तयार पार्ने घोषणा समेत गरेको छ ।
कोरोना लागि हालेमा काठमाडौं उपत्यकामा तीन वटा अस्पतालमा उपचार हुने गरी छुट्याइएको छ ।
आजबाट नेपाल आउने सबै मानिसलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नीति लागु गरेको सरकारले विदेशबाट नेपाल आउन समेत कडाई गरिसकेको छ ।
तर, सम्भावित जोखिमसँग लड्न तयारीको काम समेत उत्तिकै भइरहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस अहिले १२० देशमा पुगेको छ । तर, चीनको छिमेकी मुलुक नेपालमा भने एक जनामा मात्र संक्रमण पुष्टी भएको थियो ।
उनी पनि निको भएर फर्किएका छन् । त्यसपछि नेपाल अहिले कोरोनामुक्त छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम बारे भएका प्रयासबारे आइतबार राष्ट्रियसभालाई जानकारी दिए ।
उनले कोरोनाको संक्रमण नै नेपाल प्रवेश नहोस भन्नेमा सरकार सचेत रहेको उल्लेख गरे । उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार हुने गरी व्यवस्थापन मिलाइएको छ ।
वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पतालका रुपमा विकास गरिने भएको छ । उनले नडराइकन सचेतना अपनाउन सर्वसाधारणमा आग्रह गरे ।
रोगको संक्रमण भइहालेमा सरकारले निशुल्क उपचार गर्ने समेत उनले जानकारी गराए ।
नेपालमा अहिलेसम्म ४ सय ६४ जनामा कोरोना परिक्षण भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएकोछ ।
कोरोनाको सम्भावित जोखिमका आधारमा सरकारले उपत्यकाभित्र थप १२० र बाहिर ११५ आईसीयू वेड तयार गर्ने उनले बताए । अहिले काठमाडौं उपत्यका भित्र सबै अस्पतालमा गरी १७० वटा आईसीयू बेड रहेका छन् ।