रोम। विश्वभर कोरोना भाइरस फैलिने क्रम तीब्र छ । विश्व स्वास्थ्य संठगनका अनुसार आइतबारसम्म कोरोनाले १ सय ५७ देशमा आफ्नो उपस्थिति देखाइसकेको छ । रोगको संक्रमणबाट मर्नेको संख्या ६५ सय नाघिसकेको छ ।
कोरोना चीनको वुहानबाट ३१ डिसेम्बरमा पहिला पटक देखिएको थियो । तीन महिनाको बीचमा यस रोगले ६ हजार पाँच सय १५ जनाको ज्यान लिएको छ ।
आइतबार एकै दिन कोरोनाले संसारभर ६ सय ८२ जनाले ज्यान गुमाए । इटलीमा विगत २४ घण्टामा ३ सय ६८ जनाको मृत्यु भएको छ ।
इरानमा १ सय १३ जनाको निधन भएको छ । स्पेनमा एकै दिन ९६ जनाले ज्यान गुमाए ।
कोरोनाको संक्रमण रहेका उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको समेत ज्यान गएको इटलीका सरकारी अधिकारीहरुले पुष्टी गरेका छन् ।
मेयर भ्यालोटीको शुक्रबार ज्यान गएको हो । उनी ७० वर्षीय थिए । ७ मार्चमा उनी अस्पताल भर्ना भएका थिए ।
इटलीमा यस भाइरसको संक्रमणबाट ५० वर्षमुनीका नागरिकको ज्यान गएको छैन । इटलीमा मात्र यस भाइरसले १ हजार ८ सय ९ को ज्यान गएको छ । इटलीमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ९० नयाँ संक्रमित भेटिएका छन् । इरानमा १ हजार २ सय ९ जना नयाँ संक्रमित देखिएका छन् ।
यस मुलुकमा कूल मृतकको संख्या ७ सय २४ पुगेको छ । संक्रमितको संख्या १३ हजार ९३८ रहेको छ । जर्मनीमा आइतबार मात्रै थप एक हजार २सय १४ जनामा संक्रमण देखिएको । जर्मनीमा कूल ११ जनाको मृत्यु भएको छ ।
चीनमा २४ घण्टा भित्र १४ जनामा संक्रमण देखिएको । त्यहाँ थप १४ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा बेलायतमा १४, अमेरिकामा ११, नेदरल्यान्ड्समा ८, फिलिपिन्समा ४, दक्षिण कोरियामा ३, जापान, सान मारिनो र अस्ट्रेलियामा २–२ जना तथा स्विजरल्यान्ड, स्विडेन, बेल्जियम, डेनमार्क, ग्रीस, अल्जेरिया, हंगेरी र ग्वाटेमालामा एक–एक जनाको मृत्यु भएको विव स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।