प्रदेश दुई नाम राख्न असफल

जनकपुर । मंगलबार प्रदेश नं २ आफ्नो प्रदेशको नाम तोक्न असफल भएको छ । दुई तिहाईले अनुमोदन नभएसम्म नाम राख्न मिल्दैन । मंगलबार प्रदेशको नाम राख्ने विषयमा मतदान भएको थियो ।

मतदानबाट चार वटा नामका प्रस्ताव अस्वीकृत भए । नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामको प्रस्तावमाथि मंगलबार प्रदेशसभामा मतदान भएको थियो।

उक्त प्रस्तावका पक्षमा प्रदेशसभाका ४२ जनाले मतदान गरे भने विपक्षमा ६५ मत खसेको थियो । कांग्रेसले नै प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको छ ।

कांग्रेसले राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत खसेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको जानकी नाम पनि अस्वीकृत भएको छ।

जानकी नामका पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको छ ।

प्रदेश सभामा कुनै पनि पार्टीको दुई तिहाई बहुमत छैन । सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत पर्‍यो । दुई तिहाईका लागि १२ भोट पुगेन । प्रस्तावको विपक्षमा भने ४८ मत खसेको थियो ।

यससँगै मंगलबार भएको दिनभरको मतदान खेर गएको छ । फेरी पनि प्रदेश नं २ नामविहिन प्रदेशका रुपमा रहेको छ ।