२१ चैत, काठमाडौं । प्रहरीले काठमाडौंमा अमचचयन कायम राख्न गुण्डागर्दीविरुद्ध सर्च अभियान थालेको छ । साथै सार्वजनिक स्थलमा आम सर्वसाधारणलाई दुख दिने गिरोह र बिचौलियाविरुद्ध समेत अभियान सुरु गरिएको छ । सो क्रममा आज काठमाडौंमा प्रहरीले रातभर सर्च अप्रेशन चलाएको हो ।
गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूले प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ परेका छन् । ठमेल, विमानस्थल लगायतका क्षेत्रमा मान्छे तातातान गर्ने, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न, बिचौलिया लगायत १९५ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।