काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलने आंशका बढेको भन्दै सरकारले चैतमा निर्धारित सबे परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।
यससँगै बिहीबारबाट संचालनको तयारी रहेको माध्यमिक शिक्षा (एसईई) परीक्षा समेत स्थगित भएको हो ।
सरकारले अन्तिम समयमा आएर भने परीक्षा स्थगित गर्ने निर्णयको भने व्यापक आलोचना भएको छ ।
जोखिमको आशंका निकै अगाडीबाट भएपनि अन्तिम समयमा आएर परीक्षा रोकेको भन्दै सरकारको आलोचना भएको हो । चैत ६ गतेबाट सुरू हुने तय भएको परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने तयारीमा थिए ।
नेपालमा धेरै विद्यार्थीको आफुले पढेको स्कूलमा एसइइ परीक्षा हुँदैन । उनीहरु डेरा नै लिएर टाढा गएर परीक्षा दिनुपर्ने हुन्छ । उनीहरू भने प्रभावित भएका छन् ।
कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ ।
समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।
तर, बुधबारनै साँझ अर्को निर्णय गर्दै पहिलाको निर्णय सच्याइएको हो । बुधबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले एसइइ परीक्षा स्थगत गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सरकारले विश्वविद्यालयहरूलाई समेत चैतमा लिन लागेका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ ।
त्रिभुवन विश्वविद्यालयले भने बिहीबार निर्धारित परीक्षा यथावत संचालन हुने र त्यसपछि के गर्ने भन्नेबारे बिहीबार नै अर्को सूचना निकाल्ने जानकारी गराएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिएका छन् ।