काठमाडौं । सरकारले कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन यात्रुलाई रोकेको छ । यससँगै अब ती मुलुकमा रहेका नेपाली नागरिकसमेत आफ्नो मातृभूमि फर्कन पाउने छैनन् ।
सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भन्दै युरोप, खाडी राष्ट्र इरान, मलेसिया तथा दक्षिण कोरिया र जापानबाट मानिसहरुलाई नेपाल आउन रोकिएको छ ।
यूरोपका सबै मुलुकका नागरिक अब नेपाल आउन पाउने छैनन् । अहिले यूरोप सबैभन्दा बढी प्रभावित बनेको छ । इटलीमा मात्र २ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
यो प्रावधान मार्च २० अर्थात् शुक्रबार रातिदेखि लागु हुनेछ । सरकारले यी मुलुकमा भइरहेको उडान भने रोकेको छैन । तर, यात्रुलाई भने आउन नपाउने प्रावधान ल्याएको छ ।
यससँगै अब यी मुलुकमा उडान पनि रोकिने पक्का छ । ‘सरकारको यो निर्णयले यी मुलुकमा रहेका नेपाली र यी मुलुक हुँदै स्वदेश आउने नेपाली समेत प्रभावित हुने भएका हुन् ।
कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाइ मार्गबाट नेपाल आउने सबै यात्रुलाई प्रतिबन्ध लगाएको हो । यो समिति उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको छ ।
सरकारले ‘युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।