विदेशमा रहँदै देउवा दम्पत्तिविरुद्ध पक्राउ पूर्जी जारी, अब के हुन्छ प्रक्रिया ?

२५ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। देउवा दम्पती र उनीहरूको परिवारको अस्वाभाविक कारोबार भएको भेटिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।

पक्राउ पूर्जी जारी हुँदा देउवा दम्पती नेपालमा भने छैनन् । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पत्ति उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरु ७ चैतमा हङकङ गएका छन् । यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका थिए । त्यतिबेला भने उपचार गरेर उनीहरु फर्केका थिए ।

अहिले भने १४ फागुनमा देश छाडेका उनीहरु एक महिना ११ दिन बित्दा समेत नेपाल फर्केका छैनन् । पक्राउ पूर्जी जारी भए पनि देउवा दम्पती देश बाहिर रहेकाले अब इन्टरपोलमार्फत नेपाल ल्याउन प्रहरीले पत्राचार गर्ने तयारी रहेको समेत बताइएको छ । प्रहरी स्रोतका अनुसार यसका लागि अदालती कागजात चाहिन्छ ।
‘अदालती कागजात इन्टरपोलले माग्छ । अब नोटिसका लागि बाटो खुलेको बताइएको छ । इन्टरपोलमार्फत नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले प्रक्रिया अघि बढाउने गर्छ । नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । यसरी पक्राउ परेको अवस्थामा कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई नेपाल ल्याउन सकिनेछ ।

उनीहरु बाहिर रहेकै बेला बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काम भएको थियो । तर प्रशासनले आदेश दिएपछि देउवाको घर भत्काउने काम समेत रोकिएको छ । प्रमाण नष्ट हुनसक्ने भन्दै देउवाको घर भत्काउन रोक लगाइएको हो । पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरण संकलन र अनुसन्धान भइरहेको बताइएको छ । शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भूषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भइरहेको छ ।