बुहान । कोरोना भाइरसको संक्रमणबाट माथि उठेसँगै चीन अब सामान्य जनजीवनमा फर्कन थालिसकेको छ । कोरोना भाइरस महामारीको केन्द्रविन्दु वुहानमा बिरामीको संख्या घटेको छ ।
स्कूल, कलेज तथा उद्योगहरु नियमित संचालनमा आउन थालेका छन् । यससँगै चीनले बुहानमा खटाएका अन्य राज्य तथा क्षेत्रका चिकित्सक आफ्नो कार्यक्षेत्रमा फर्कन थालेका छन् ।
मंगलबारबाट स्वास्थ्यकर्मीलाई बिदा दिन थालिएको छ । चीनका विभिन्न स्थानबाट ४१ वटा स्वास्थ्यकर्मीको टोलीमा ३ हजार ६ सय ७५ स्वास्थ्यकर्मी वुहानमा खटिएका थिए ।
यहाँ कोरोना भाइरसको संक्रमणबाट पिडितको उपचारका लागि एक दर्जनभन्दा बढी ठूलो अस्थायी अस्पताल बनाइएको थियो ।
ती अस्पताल समेत भत्काउन थालिएको छ । चीनले रंगशाला, प्रदर्शनी केन्द्रलगायत स्थानमा अस्थायी अस्पताल बनाएको थियो ।
चीनले कडा निगरानीसहित यातायात र एयरलाइन्स सेवा समेत खुला गरिरहेको छ । हुबेई प्रान्तमा ४२ हजार हाराहारी चिकित्सक सेवामा खटिएका थिए ।
कतिपयले त कोरोना विरुद्ध लड्दालड्दै ज्यान समेत गुमाए । हुबेईमा सोमबार एक मात्र नयाँ संक्रमित फेला परेका थिए । मंगलबारसम्म चीनमा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५५ हजार ९ सय ८७ पुगेको छ।