न्युयोर्क
अमेरिकामा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा बढ्दै गएको छ । यो भाईरसको संक्रमण बढ्दै गर्दा अमेरिकी जन जीवनमा निकै ठुलो प्रभाब पर्दै गएको छ । अमेरिकामा कोरोनाको प्रभाब बढ्न थालेपछि दैनिक उपभोग्य बस्तुहरुको माग मात्र होईन बन्दुक र पेस्तोलको ब्यापार समेत ह्वात्तै बढेको छ । हरेक दिन जसो हतियार पसलहरुमा भिड लाग्न थालेको छ । बन्दुकको यो ब्यापक बिक्री राष्ट्रियरुपमा नै भईरहेको र यस्तो भिडमा पहिलो पटक बन्दुक खरिद गर्नेहरु रहेको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् । कोरोनाको संक्रमण बढेसंगै लुटपाट लगायतमा अन्य अपराधमा बृद्धि हुने अनुमानका आधारमा मानिसहरु घण्टौं लाईन बसेर सुरक्षाका लागि बन्दुक किन्न थालिएको समेत समाचार एजेन्सीहरुले जनाएका छन् । गत सोमबार अन्य सबै कारोबारमा गिरावट आएको शेर बजारमा अमेरिकन आउटडोर ब्रान्ड, स्ट्रम, रगर एन्ड कम्पनी, भिस्टा आउट डोर जस्ता हतियार उत्पादक कम्पनीहरुको शेयर बजारमा भने बृद्धि भएको थियो ।
फेब्रुअरी महिनामा फेडरल इन्भेस्टिगेसन ब्युरो (एफ बि आई ) को सिस्टममा २८ लाख मानिसहरुले हतियार खरिदको लागि आफ्नो ब्याकग्रारान्ड चेक गराएका थिए । यो संख्या सन् २०१६ पछिको सबैभन्दा धेरै हो ।
निबर्तमान राष्ट्रपति बाराक ओबामाले पद सम्हालेदेखि यता बन्दुक र पेस्तोलको सबै भन्दा उच्च बिक्री भएको एरिजोनास्थित एक बन्दुक ब्यापारीले बताएक छन् । ट्याक्टिकल गेर रिटेलरका केभिन लिमले बज फिड न्युजलाई भनेका छन्; “अमेरिकामा कोरोना भाईरस फैलिन सुरु गरेपछि अरु समयको भन्दा अहिले बन्दुक पेस्तोल लगायतको हतियार बिक्रीमा १०० प्रतिशत बृद्धि भएको छ” ।
चिनबाट सुरु भएको कोरोना भाईरसका कारण असुरक्षित महसुस गर्दै एसियन अमेरिकहरुले ठुलो संख्यामा बन्दुक पेस्तोल किन्न थालिएको समेत समाचार एजेन्सीहरुले जनाएका छन् ।
लसएन्जलसका कतिपय ठाँउहरुमा भने दैनिक उपभोग्य बस्तुका पसलहरुमा भन्दा हतियारका पसलमा धेरै भिड हुन थालेको छ । अमेरिकामा कोरोना भाईरस ल्याएको आरोप लगाउदै मङोलियन अनुहारका मानिसहरुलाई सार्वजनिक स्थानहरुमा अपमान गर्ने क्रम समेत बढेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमा कोरोना भाईरसलाई चाईनिज भाईरसको नामले लेख्ने गरेका छन् । मानिसहरुले बिभिन्न डिजाइनका बन्दुक पेस्तोल जस्ता हतियारका साथमा बुलेट प्रुफ ज्याकेट र चक्कुहरु समेत किन्न थालेका छन् ।