मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता

(260409) -- ZRARIYEH, April 9, 2026 (Xinhua) -- Photo taken on April 9, 2026 shows buildings destroyed by Israeli airstrikes in Zrariyeh, southern Lebanon. The death toll from Israel's Wednesday attacks across Lebanon has risen to 303, the Lebanese Health Ministry said Thursday. (Photo by Ali Hashisho/Xinhua)

पेरिस, २७ चैत (रासस–एएफपी) । अमेरिका–इरानबीच युद्धविराम सहमति भए पनि मध्यपूर्वमा हिंसा रोकिएको छैन । लेबनानमा तीव्र आक्रमण, इजरायल–हिजबुल्लाहबीच प्रतिकारात्मक कारबाही, तथा कूटनीतिक पहलहरू एकसाथ अघि बढिरहेका छन्, जसले क्षेत्रीय शान्ति अझै अनिश्चित रहेको स्पष्ट सङ्केत दिएको छ ।

इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले बिहीबार इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ । उसले यस कदमलाई अमेरिका–इरान युद्धविरामको ‘उल्लङ्घन’ विरुद्धको प्रतिक्रिया भनेको छ । एक दिनअघि मात्र लेबनानभरि भइरहेको इजरायली आक्रमणको घातक शृङ्खलाप्रति प्रतिक्रिया दिने ‘अधिकार’ रहेको उसले सार्वजनिक रूपमा बताएको थियो ।

यसैबीच, इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने होरमुज जलडमरूमध्य क्षेत्रमा समुद्री जोखिम बढेको भन्दै जहाजहरूका लागि वैकल्पिक समुद्री मार्ग घोषणा गरेको छ । सो मार्गमार्फत आवतजावतका लागि नयाँ निर्देशिका समेत सार्वजनिक गरिएको छ, जसले क्षेत्रीय व्यापार र ऊर्जा आपूर्तिमा असर पार्ने सङ्केत देखाएको छ ।

लेबनानमा भएको आक्रमणप्रति अन्तर्राष्ट्रिय रेड क्रस समितिले तीव्र आक्रोश व्यक्त गरेको छ । लेबनानस्थित प्रतिनिधिमण्डल प्रमुख एग्नेस धुरले नागरिकहरू युद्धविरामको प्रतीक्षामा रहेका बेला भएको ‘विनाशकारी आक्रमण’ ले देशलाई त्रास र अराजकतामा धकेलेको बताए । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने अमेरिका र इरानका नेताहरूसँग संवाद गर्दै लेबनानलाई समेत युद्धविरामको दायरामा समेट्न आग्रह गरेका छन् । उनले सबै सङ्घर्षग्रस्त क्षेत्रहरूमा युद्धविरामको पूर्ण पालना हुनुपर्नेमा जोड दिए।


लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार इजरायली आक्रमणमा कम्तीमा १८२ जनाको मृत्यु भएको छ भने ८९० जना घाइते भएका छन् । राजधानी बेरुतले हालसम्मकै सबैभन्दा भीषण बमबारी झेलेको जनाइएको छ । इजरायली रक्षामन्त्रीले भने हिजबुल्लाहका संरचनाहरू लक्षित गरी आक्रमण गरिएको र यसलाई सन् २०२४ पछि उक्त समूहविरुद्धकै ठूलो कारबाही भएको दाबी गरे । उता, तेहरानमा बसोबास गर्ने सर्वसाधारणमा मिश्रित प्रतिक्रिया देखिएको छ ।

केहीले युद्धविराम दिगो नहुने चिन्ता व्यक्त गरेका छन् भने धेरैले हप्तौँको तनावपछि राहत महसुस गरेको बताएका छन् । ५० वर्षीया गृहिणी साकिनेह मोहम्मदीले आफूहरू अहिले ‘धेरै सहज’ भएको र देशप्रति गर्व लागेको बताइन् । आर्थिक क्षेत्रमा भने युद्धविरामको प्रभाव देखिन थालेको छ । तेल तथा ग्यासको मूल्य घटेको छ भने विश्व सेयर बजारमा सुधार आएको छ । डाउ जोन्स इन्डस्ट्रियल एभरेज करिब २।९ प्रतिशतले बढेको छ भने प्रमुख तेल सम्झौता करिब १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ डलरमा झरेको छ । यसले होरमुज जलडमरूमध्य पुनः खुल्न सक्ने अपेक्षा बलियो बनाएको छ ।


इरानका राष्ट्रपति मसुद पेजेस्कियानले लेबनानमा इजरायली आक्रमण रोक्नु क्षेत्रीय युद्ध अन्त्यका लागि प्रस्तुत १० बुँदे जनाको मुख्य शर्त भएको बताएका छन् । इजरायलले हिजबुल्लाहविरुद्ध ठूलो आक्रमण सुरु गरेपछि उनको यस्तो धारणा सार्वजनिक भएको हो । यसै सन्दर्भमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इस्लामाबादमा हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व गर्ने तयारी गरेका छन् ।

उनीसँगै विशेष दूत स्टिभ विटकफ र जारेड कुसनर पनि सहभागी हुने बताइएको छ । भान्सले इरानलाई लेबनानमा युद्धविराम अवरुद्ध नगर्न आग्रह गर्दै त्यहाँको द्वन्द्व हालको सहमतिको हिस्सा नभएको स्पष्ट पारे । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले लेबनानमा भइरहेको हिंसालाई ‘भयावह’ भन्दै कडा आलोचना गरेका छन् ।

उनले युद्धविराम सहमति भएको केही घण्टामै भएको यस्तो आक्रमणले विश्वासमाथि गम्भीर चोट पुर्‍याएको बताए । रेड क्रसले पनि यस घटनाबाट ‘गहिरो आक्रोश’ व्यक्त गरेको छ । यता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने आवश्यक परे इरानविरुद्ध पुनः युद्धमा फर्कन आफूहरू तयार रहेको स्पष्ट पारे । “हामीसँग अझै पूरा गर्न बाँकी लक्ष्यहरू छन् र ती हामी सम्झौता वा लडाइँमार्फत पूरा गर्नेछौँ”, उनले टेलिभिजन सम्बोधनमा भने ।