काठमाडौं । आन्तरिक उडानमा वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्। सरकारले आन्तरिक हवाई इन्धनको मूल्यमा ४ रुपैयाँ ५० पैसा घटाएपछि कम्पनीहरुले समेत हवाई भाडा कम गरेका हुन् ।
घटेको भाडा शुक्रबारदेखि लागु हुनेछ । वायुसेवा कम्पनीले कम्तीमा २५ रुपैयाँदेखि बढीमा २ सय रुपैयाँसम्म हवाइ भाडा घटाएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिएका छन् ।
कोरोना भाइरसले आन्तरिक उडानका कम्पनीहरुतर्फ पनि हेलिकोप्ट र साना विमानस्थलमा उड्ने कम्पनीको व्यापार भने घटेको छ ।
किनकी पर्यटक आगमन ठप्प भएपछि यी वायुसेवा कम्पनीको व्यापार घटेको हो । ठूला विमानस्थलमा भने नेपाली यात्रुकै कारण पर्याप्त व्यापार भइरहेको छ ।
साना विमानस्थलमा उडाउने जहाजमध्ये केही जहाज ग्राउन्डेड गर्ने निष्कर्षमा व्यवसायी पुगेका छन् । हेलिकोप्टर समेत केही समय थन्किएर बस्नेछन् ।
कोरोना भाइरसका कारण नेपालमा पर्यटन व्यवसाय सबैभन्दा धेरै प्रभावित भएको छ ।