कस कसले पाउँदैछन् अमेरिकी सरकारबाट नगद ? एक जनालाई १२०० डलरसम्म

न्यूयोर्क

अमेरिकी सरकारले कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटसँग जुध्न नागरिकहरुलाई नगद राहत दिने मापदण्ड पारित भएको छ । सिनेट रिपब्लिकनहरुले बिहीबार साँझ पारित गरेको मापदण्ड अनुसार एक जनाले एक हजार दुई सय डलरसम्म प्राप्त गर्नेछन् ।

बार्षिक ७५ हजार अमेरिकी डलरसम्म आय भएको व्यक्ति या एक लाख ५० हजार डलरसम्म कमाउने परिवारलाई प्रतिव्यक्ति १२ सय डलरको चेक पठाउने प्रस्ताव सिनेट रिपब्लिकनले पारित गरेका हुन् । यो रकम एक पटक उपलब्ध हुनेछ । राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्थमन्त्री स्टिभेन म्नुचिनले यो रकम जति सक्दो चाँडो अमेरिकीको हात हातमा पुर्याउने बताउँदै आएका थिए ।

कोरोनाले उत्पन्न गरेको आर्थिक संकटसँग जुध्न नागरिकलाई नगद राहत दिनु पर्ने प्रस्ताव सुरुमा रिपब्लकिन सिनेटर मिट रोम्नीले अघि सारेका थिए । बार्षिक ७५ हजार डलर भन्दा धेरै कमाउनेको हकमा भने प्रत्येक १०० डलर आय बराबर पाँच डलर कटौती हुँदै जानेछ । यसरी बार्षिक ९९ हजार डलर भन्दा धेरै कमाउनेले कुनै रकम प्राप्त गर्नै छैनन् ।

कोरोना भाइरसको संकट गहिरिँदै जाँदा अमेरिकामा बेरोजगारी दर बढ्न थाली सकेको छ । अर्थमन्त्री म्नुचिनले बेरोजगारी दर २० प्रतिशतसम्म पुग्न सक्ने आँकलन केही दिन अघि गरेका थिए ।