७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको बता्रएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको जवाफ दिँदै उनले बैंकबाट गएको पैसाको हिसाब सबै देखिने बताए । ‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?,’ उनले भनेका छन् । साथै, लगानीको स्रोतमाथि उठेका प्रश्नबारे स्पष्टीकरण दिँदै उनले विसं २०८० भदौ २९ गतेको लिखित तमसुक रेकर्डमा रहेको उल्लेख गरेका छन् ।
‘अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०–०५–२९ को हो, जुन रेकर्डमा नै छ,’ गुरुङले भनेका छन्, ‘उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो ।’
आफ्नो रकमको विषय अनुमानको नभइ कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय भएको उनको तर्क छ । ‘अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,’ गुरुङले भनेका छन् । यद्दपी उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सो ऋणबारे उल्लेख नगरेका कारण उनको दाविमाथि अझ प्रश्नहरु थपिएका छन् । सुधन गुरुङको अस्वभाविक सम्पत्ति र त्यसको स्रोतमाथिका प्रश्नलाई लिएर सर्वसाधारणले भने नैतिक प्रश्न उठाइरहेका छन् ।