काठमाडौं । नेपालले सार्क आपतकालिन कोषमा नेपाली १० करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसको घोषणा गरेका हुन् र कोरोना भाइरस सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको यस निर्णयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै ट्वीट गरेका छन् ।
नेपालको यस निर्णयका लागि उनले ओलीलाई लक्षित गर्दै कृतज्ञता व्यक्त गरेका छन् । यो कोष स्थापनामा भारतीय प्रधानमन्त्री मोदीले सक्रियता जनाएका थिए ।
उनकै पहलमा सार्क मुलुकका राष्ट्र प्रमुखहरुबीच भिडियो वार्ता भएको थियो । सोही बेला मोदीले कोष स्थापनाको प्रस्ताव गरेका थिए ।
मोदीले ट्वीट गर्दै ओलीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशहरुको समर्थनलाई दर्शाउने उल्लेख गरेका छन् ।
भारतले कोषमा १ करोड अमेरिकी डलर जम्मा गरेको छ । कोषमा सार्क सदस्य देशले स्वेच्छाले रकम जम्मा गर्न र कोरोना विरुद्धको लडाइँमा खर्च गर्न पाउने भएका छन् ।