काठमाडौँ, वैशाख १३ गते । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण अनुमतिबाट एक अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि शनिबारसम्म जारी भएका ३० हिमाल आरोहण अनुमतिबाट एक अर्ब दुई करोड ८८ लाख ९३ हजार २३६ रुपियाँ राजस्व सङ्कलन भएको हो ।
विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्तयामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीसँगै यस वर्ष राजस्व सङ्कलनमा समेत बढेको छ । उनका अनुसार शनिबारसम्म १११ समूहका ७०१ पुरुष र ३४३ महिना गरी ९४४ आरोहीले हिमाल चढ्ने अनुमति लिएका छन् । यो सिजनमा पर्वतारोहणका लागि विशेष आकर्षण रहने सगरमाथा आरोहणका लागि सबैभन्दा बढी राजस्व सङ्कलन सगरमाथाबाट ८९ करोड तीन लाख ९३ हजार ९२५ रुपियाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
सगरमाथा आरोहण गर्न मात्रै यो सिजनमा ४१ समूहका ३१३ पुरुष र ९७ महिला गरी ४१० आरोहीले अनुमति लिएको उनले बताए । विभागले गत फागुन १७ देखि यो यामका लागि आरोहण अनुमति खुला गरेकोमा शुक्रबारसम्म नेपालसहित ७६ देशका आरोहीले अनुमति लिएका हुन् । जसमध्ये सगरमाथा आरोहणका लागि अनुमति लिएका नेपालसहित ५४ देशका आरोही सगरमाथा आधार शिविरमा आरोहणको बाटो खुल्ने प्रतीक्षामा छन् ।
यस याममा हिमाल आरोहण गर्न सबैभन्दा बढी चीनबाट १२७, अमेरिकाबाट एक सय, भारतबाट ७१, जर्मनीबाट ६५, बेलायतबाट ६४, रुसबाट ६० जनाले अनुमति लिएका छन् । सरकारले २०७१ पुस १७ गतेदेखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क परिवर्तन गर्दै गत साउन २६ देखि नयाँ शुल्क कायम गरेपछि शरदयामदेखि आरोहण शुल्कमा बढोत्तरी भएको हो ।
विगतका शरद ऋतुमा साढे सात करोडको हाराहारीमा राजस्व सङ्कलन हुँदै आएकोमा १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु भएपछि यस वर्षको उक्त याममा राजस्व तेब्बरले बढेर साढे २५ करोडभन्दा बढी रुपियाँ सरकारी कोषमा दाखिला भएको थियो ।