इरान–अमेरिका द्धन्द्ध पुनः बढ्दै : यूएईको सरकारी तेल ट्यांकरमा आक्रमण

File : TOPSHOT - Smoke rises from the direction of an energy installation in the Gulf emirate of Fujairah on March 14, 2026. Smoke could be seen rising from the direction of a major UAE energy installation on March 14, in what appeared to be the latest strike targeting the Gulf's petroleum facilities hours after the US struck Iran's Kharg Island. (Photo by AFP) /

२२ वैशाख, काठमाडौं । यूएईको विदेश मन्त्रालयले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमा आक्रमण भएको जनाएको छ । फुजैराहस्थित तेल बन्दरगाहमा भएको यस आक्रमणबाट ठूलो आगलागी भएको र तीन जना घाइते भएको अधिकारीहरूले बताएका छन् । यूएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोन रोकेको जनाएको छ ।

यूएईले यसलाई ‘खतरनाक’ भन्दै प्रतिक्रिया जनाउने अधिकार सुरक्षित राखेको छ । यो आक्रमण इरानले गरेको आशंका गरिएको छ । तर इरानी सरकारी टेलिभिजनमार्फत् एक सैनिक अधिकृतले भने ‘यूएईलाई निशाना बनाउने कुनै योजना नभएको’ जनाएका छन् । घटनापछि कच्चा तेलको मूल्य प्रतिव्यारेल ११५ डलर नाघेको छ, जुन दिनभरिमा पाँच प्रतिशतभन्दा बढी वृद्धि हो ।

फुजैराह यूएईको पूर्वी तटमा, स्ट्रेट अफ होर्मुजभन्दा बाहिर पर्छ । अबुधाबीका तेल क्षेत्रबाट पाइपलाइनमार्फत त्यहाँ तेल ल्याइने भएकाले स्ट्रेट अफ होर्मुज अवरुद्ध भए पनि केही मात्रामा तेल विश्व बजारमा पठाउन सम्भव हुन्छ । यसैबीच दक्षिण कोरियाले यूएई नजिकै रोकिराखेको आफ्नो एक जहाजमा विस्फोट भएको जानकारी दिएको छ । ओमानमा पनि स्ट्रेट अफ होर्मुजको किनार नजिकैको बुखा क्षेत्रमा एउटा आवासीय भवनमा आक्रमण हुँदा दुई जना घाइते भएको समाचार छ ।

छिमेकी कतारले यी आक्रमणको निन्दा गर्दै जलमार्ग निस्शर्त रूपमा खुला गरिनुपर्ने माग गरेको छ । आइतबार ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अलपत्र जहाजहरूलाई बाहिर निकाल्न ‘प्रोजेक्ट फ्रिडम’ अभियान अन्तर्गत अमेरिका अघि बढ्ने बताएका थिए । लगत्तै सोमबार अमेरिकाले सातवटा इरानी साना डुंगाहरुमा आक्रमण गरेको थियो । सो आक्रमणबाट एक अमेरिकी झण्डावाल जहाज सुरक्षित बाहिर निस्किन सफल पनि भएको छ ।

ट्रम्पले विश्वभरिका देशहरूले आफ्ना ‘निष्पक्ष र निर्दोष’ जहाजहरूलाई सुरक्षित बाहिर निकाल्न सहयोग मागेको बताएका छन् । तर उनले यो प्रक्रिया कसरी अघि बढ्छ भन्ने स्पष्ट पारेका छैनन् । केवल उनले ‘यदि यस मानवीय प्रयासमा अवरोध गरियो भने बल प्रयोग गर्ने’ चेतावनी दिएका छन् ।