कैलाली । भारतसँगको सीमामा आएर नेपाल प्रवेशमा रोक लगाइएका नेपाली नागरिकको उद्दार गर्न थालिएको छ ।
मंगलबार राती गौरीफन्टा नाकाबाट मात्र ९ सय १४ जना नेपालीलाई नेपाल तर्फ ल्याइएको हो । उनीहरु कैलाली प्रवेश गरेका छन् । सीमाको भारतीय भूमिमा करिब २८ घण्टा रोकिएपछि बल्ल उनीरुको उद्दार भएको हो ।
नेपाल सरकारले लकडाउन घोषणा गरेपछि उनीहरु सीमामा नै रोकिएका थिए । १९ जिल्लाका ९ सय १४ जनाको उद्दार गरी नेपाल प्रवेश अनुमति दिइएको प्रहरीले जनाएको छ ।
संघीय सरकारले मंगलबार सीमा नाकामा आएर रोकिएका सबै नेपाली नागरिकलाई एक पटकका लागि प्रवेश अनुमति दिने तर उनीहरु अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने शर्त राखेको छ ।
सोही अनुसार स्थानीय प्रशासनले नेपाल प्रवेशको चाँजोपाँजो मिलाएको हो ।
उनीहरुलाई प्रदेश सरकारले बसमा राखेर घरसम्म पुर्याउने जिम्मेवारी संघस्य सरकारले दिएको छ । उनीहरु सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्छ । अन्य नाकबाट पनि नेपालीको उद्दार थालिएको छ ।