अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

File : (260407) -- TEHRAN, April 7, 2026 (Xinhua) -- People take part in a memorial event held to mourn the students of an elementary school who were killed in a missile strike in southern Iran, in Tehran, Iran, April 7, 2026. A missile strike on an elementary school in Minab, southern Iran on Feb. 28, 2026 killed at least 175 people, most of them schoolgirls. Increasing evidence has shown this tragedy was of the U.S. making. (Xinhua/Shadati)

दुबई, ६ जेठ (रासस–एपी) । इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा हतियार प्रदर्शन बढाइएको छ । इरानी क्रान्तिकारी गार्डका सदस्यहरूले सर्वसाधारणलाई ‘आक्रमणकारी’ राइफल चलाउने तालिम दिन थालेका छन् भने राजधानीका सडकमा सैन्य सवारीसाधनसहित मेसिनगन प्रदर्शन गरिँदै आएको छ ।


एक सामूहिक विवाह समारोहमा इजरायलमाथि क्लस्टर बम प्रहार गर्न प्रयोग गरिएको जस्तै ब्यालिस्टिक क्षेप्यास्त्रसमेत मञ्चमा सजाइएको देखिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भएमा इरानविरुद्ध पुनः युद्ध सुरु हुन सक्ने चेतावनी दिएपछि इरानले शक्ति प्रदर्शनलाई अझ तीव्र बनाएको विश्लेषण गरिएको छ । विशेषगरी हर्मुज जलडमरूमध्यमा इरानको नियन्त्रण कायम रहे तनाव बढ्न सक्ने संकेत देखिएको छ ।

रिपोर्टअनुसार अमेरिकाले इरानको उच्चस्तरीय संवर्धित युरेनियम भण्डार बल प्रयोग गरेर नियन्त्रणमा लिन सक्ने संकेत दिएपछि इरानले जनस्तरमा पनि तयारी बढाएको हो । यसअघि ट्रम्पले कुर्द लडाकुमार्फत सरकारविरोधी प्रदर्शनकारीलाई हतियार पठाएको दाबीसमेत गर्नुभएको थियो ।


यसबीच इरानमा बढ्दो महँगी, व्यापार बन्द, रोजगारी गुम्ने अवस्था तथा खाद्यान्न र औषधिको मूल्यवृद्धिका कारण सर्वसाधारणमा चिन्ता बढिरहेको छ। यस्ता कठिन परिस्थितिमा सरकार समर्थक कठोर समूहलाई उत्साहित गर्न तथा सम्भावित विरोध प्रदर्शन नियन्त्रणमा राख्न पनि हतियार प्रदर्शन उपयोग गरिएको विश्लेषण गरिएको छ ।


तेहरानका ४७ वर्षीय अली मोफिदीले हतियार तालिम कार्यक्रममा सहभागी हुँदै “अहिलेको अवस्था युद्धजस्तै भएकाले सबै नागरिकले बन्दुक चलाउन जान्नु आवश्यक छ” भन्नुभएको एपीले उल्लेख गरेको छ ।

पछिल्ला महिनाहरूमा सरकारी सञ्चारमाध्यम तथा सन्देशमार्फत नागरिकलाई “ज्यान अर्पण गर्न तयार हुने” अभियानमा सहभागी हुन आह्वान गरिएको छ। केही कट्टरपन्थी समूहहरूले १२ वर्षसम्मका बालबालिकालाई समेत सुरक्षा जाँच चौकीमा खटिन प्रोत्साहित गरेको आरोप लागेको छ, जसलाई मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले युद्ध अपराधको संज्ञा दिएको छ ।


इरानी अधिकारीहरूले करिब ९ करोड जनसंख्या रहेको देशमा ३ करोडभन्दा बढी नागरिकले अनलाइन वा सार्वजनिक कार्यक्रममार्फत सरकारका लागि ज्यान दिन तयार रहेको दाबी गरेका छन् । यद्यपि उक्त तथ्य स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।