इरानमा युद्धका लागि ’बलिदान’ गर्न तयार जोडीका लागि सामूहिक विवाह

File : People wave Iranian flags and chant slogans in a memorial for school children who were killed during a strike on a school in southern town of Minab on Feb. 28, in downtown Tehran, Iran, Tuesday, April 7, 2026. (AP Photo/Vahid Salemi)

तेहरान, ८ जेठ (रासस–एएफपी) । इरानका अधिकारीहरूले अमेरिका र इजरायलविरुद्धको युद्धमा आफ्नो जीवन बलिदान दिन तयार रहेको घोषणा गर्दै राज्य–प्रायोजित योजनामा हस्ताक्षर गरेका जोडीहरूका लागि तेहरानमा सामूहिक सार्वजनिक विवाह आयोजना गरेका छन् । सोमबार राति आयोजित समारोहमा राजधानीका धेरै प्रमुख चोकहरूमा सयौँ जोडीहरू सहभागी भएका थिएभने मध्य तेहरानको इमाम हुसेन स्क्वायरमा १०० भन्दा बढी जोडी सहभागी एक विशाल समारोह आयोजना गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २८ देखि सुरु भएको युद्धविरामको बीचमा इरानविरुद्ध नयाँ सैन्य कारबाहीको धम्की दिँदै युद्धकालीन मनोबल बढाउने प्रयासमा सरकारी टेलिभिजनमा ती समारोहलाई प्रसारण गरिएको थियो । इरानी मिडियाका अनुसार यसमा संलग्न व्यक्तिहरूले तथाकथित ‘स्वेच्छिक–बलिदान (जनफादा)’ योजनाको लागि हस्ताक्षर गरेका थिए र उनीहरूले पावर स्टेशनहरू बाहिर मानव साङ्लो बनाएर युद्धमा देशका लागि आफ्नो जीवन समर्पण गर्ने वाचा गरेका थिए ।

इरानी अधिकारीहरूका अनुसार संसद्का सभामुख मोहम्मद बाघर गालिबाफ र राष्ट्रपति मसुद पेजेस्कियनजस्ता शीर्ष व्यक्तित्वहरू सहित लाखौं मानिसहरूले युद्धका लागि आफ्नो नाम अघि सारिसकेका छन्। इमाम हुसेन स्क्वायरमा सैनिक जीपमा मेसिन गन बोकेर आएका जोडीहरू एक धर्मगुरुको सभापतित्वमा आयोजित समारोहमा मञ्चमा विवाह गरेका थिए ।

मञ्च बेलुन र युद्धको पहिलो दिन आफ्ना पिता र पूर्ववर्ती अली खामेनीको हत्यापछि पदोन्नति भएयता सार्वजनिक रूपमा देखा नपरेका सर्वोच्च नेता अयातोल्लाह मोजतबा खामेनीको विशाल तस्वीरले भरिएको थियो । “निश्चित रूपमा, देश युद्धमा छ, तर युवाहरूलाई पनि विवाह गर्ने अधिकार छ,” नाम नबताउने सेतो इस्लामिक बेहुलीको पोशाकमा रहेकी एक युवतीको भनाइलाई मेहर न्यूज एजेन्सीले प्रकाशित गरेको फुटेजमा देखाइएको छ।

आफ्नी दुलहीको छेउमा गाढा सुट लगाएका एक व्यक्तिले ‘उनीहरू शिया मुस्लिमहरूले सम्मान गर्ने इमाम अलीको विवाहको वार्षिकोत्सवको अवसरमा खुशी रहेको’ बताए । “हामीले उहाँहरुको आशीर्वाद पायौँ । यसबाहेक, हामी सडकमा मानिसहरूलाई शुभकामना दिन आएका छौँ,” उनले भने।

मेहरका अनुसार इमाम हुसेन स्क्वायर समारोहमा मात्र ११० जोडीले भाग लिएका थिए। एएफपीका तस्बिरमा शुभचिन्तकहरूको भीड गुलाबको फूल बोकेर हेरिरहेको देखिन्छ। युद्ध सुरु भएदेखि नै इरानी अधिकारीहरूले द्वन्द्वको बीचमा लोकप्रिय परिचालनलाई उजागर गर्न दैनिक रूपमा प्रमुख सरकार समर्थक भेलाहरू आयोजना गर्दै आएका छन्।