निर्वाचनसम्बन्धी दुई विधेयक पारित

सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय र विशेष समयपछि उठेर विरोध जनाउँदै विपक्षी दलका सांसद । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, १२ जेठः प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ । बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएका निर्वाचन कानुन संशोधनसम्बन्धी अध्यादेशहरू विस्थापन गर्न हाल यी विधेयक प्रस्तुत भएका हुन् ।

पारित विधेयकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ छन् । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफलमा सांसद प्रेमबहादुर बयकले भाग लिँदै निर्वाचनमा समानुपातिकतर्फ अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा सहभागितालाई थप सुनिश्चित गर्न आग्रह गरे । ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफलका लागि भने कुनै पनि सदस्यले नाम दिएका थिएनन् । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १३ गते बुधबार बिहान ११ः०० बजे बस्नेछ ।