काठमाडौं । सरकारले चैत महिनाका लागि विद्यूतका ग्राहकलाई छूट दिने भएको छ । यो छूट घरायसी प्रयोजनमा विद्यूत उपयोग गर्ने ग्राहकका लागि मात्र हो ।
उर्जा मन्त्रालयका अनुसार करीव ३८ लाख ग्राहक यसबाट लाभान्वित हुने भएका छन् ।
१ सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई चैत महिनाको महसुलमा २० प्रतिशत छुट दिन लागिएको हो ।
३८ लाख ग्राहकलाई १ सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्व भने ५० करोड कम हुनेछ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठक बसेको थियो ।
बैठकले महसुल छूटको निर्णय मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न सरकारले लकडाउन गरेको छ ।
यसबीचमा कमाएर खाने मानिसको रोजगारी गुमेको गुनासोका बीच सरकारले थोरै भएपनि ग्राहकलाई छूट दिने घोषणा गरेका हो ।
यसले एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा समेत प्रोत्साहन गर्ने बताइएको छ । ग्यासलाई इलेक्ट्रिक कुकिङमा सिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने उर्जा मन्त्री वर्षमान पुनको भनाई छ ।