न्यूयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट अत्यधिक प्रभावित न्यूयोर्क सहित छिमेकी राज्यहरु न्यूजर्सी र कनेक्टिकटमा अनिवार्य ‘क्वारेन्टाइन’ घोषणाको तयारी गरेका छन् । त्यसो भएमा ती राज्यका नागरिक घरबाहिर निस्किन पाउने छैनन् ।
शनिबार बिहान पत्रकारहरुसँग बोल्दै आफ्नो सम्भावित कदमको जानकारी ट्रम्पले गराएका थिए । ‘केही मान्छेहरुले न्यूयोर्क भाइरसको हटस्पट रहेका कारण क्वारेन्टाइनमा राख्नु पर्ने बताएका छन्, ट्रम्पले भनेका थिए , न्यूयोर्क सहित न्यू जर्सी र कनेक्टीकटका केही भेगका लागि उक्त घोषणा हुन सक्छ ।’
ट्रम्पले दिउँसो ट्विट गरेर यसबाट छिटै निर्णय लिने समेत बताएका छन् । न्यूयोर्क गभर्नर एन्ड्रु कुम्मोले भने ट्रम्पसँग अनिवार्य ‘क्वारेन्टाइन’बारे कुनै कुराकानी नभएको बताए । शनिबार बिहान पत्रकार सम्मेलनमा आफुलाई यसबारे जानकारी नभएको कुम्मोले बताएका हुन् ।
उनी सुरु देखिनै नागरिकलाई हिँडडुलमै बन्देज लगाउने गरी ‘क्वारेन्टाइन’ आदेशको बिपक्षमा छन् । पत्रकारहरुको प्रश्नमा ट्रम्पलाई पनि उक्त आदेश जारी गर्ने कानूनी अधिकार नभएको कुम्मोले बताएका थिए । उनी अहिले घोषित ‘सोसल डिष्टेन्स’ र ‘स्टे एट होम’ आदेशकै निरन्तरताको पक्षमा छन् । यी आदेशले हिँडडुल गर्ने नागरिकको न्यूनतम मौलिक हक पनि हनन नहुने र भाइरस विस्तार पनि घटि रहेको उनको ठम्याइ छ ।
अमेरिकामा घरबाट निस्किन नपाउने बाध्यकारी नियम लागु गर्न सरकारलाई तुलनात्मक रुपमा कठिन नै पर्छ । संविधानले नै नागरिकको न्यूनतम हक खोस्न बन्देज लगाएका कारण लोकतान्त्रिक विधीबाटै समाधान खोज्नु पर्नेमा अधिकांश जनप्रतिनिधीको मत रहँदै आएको छ ।
शनिबार साँझसम्म दुई हजार बढिले ज्यान गुमाइ सकेका छन् भने संक्रमितको संख्या एक लाख २० हजार पुग्न लागेको छ । दैनिक २० हजार हाराहारी नयाँ रोगी नथिइ रहेका छन् भने मृतकको संख्या तीन दिनमा दोब्बर भइ रहेको छ । सबैभन्दा धेरै न्यूयोर्कमा ५२ हजार संक्रमित छन् भने सात सय बढिले ज्यान गुमाइ सकेका छन् । दोस्रो स्थानमा रहेको न्यू जर्सीमा ११ हजार बढि संक्रमित छन् भने १४० को मृत्यु भइ सकेको छ । अझै पनि केन्द्र सरकारले चाहिएजति स्वास्थ्य उपकरण उपलब्ध गराउन नसकेको गुनासो राज्य एवं स्थानीय सरकारहरुले गर्दै आएका छन् । सुरुमा कोरोना भाइसरले अमेरिकालाई असर नपर्ने दावी गर्दै आएको राष्ट्रपति ट्रम्प प्रशासन अहिले गम्भिर देखिए पनि रोगको प्रसार कम भएको छैन ।