अमेरिकी सरकारको राहत प्राप्त हुनु अघि नै ठग्ने गिरोह सकृय : होसियार !

न्युयोर्क

अमेरिकास्थित संघीय सरकारले प्रदान गर्ने भनिएको द्रुत राहत चेक सरकारले जारी गरेकै छैन तर त्यही राहत रकमको नाममा ठगी गर्नेहरु भने सकृय भै सकेका छन् ।  सरकारले प्रति ब्यक्ती दिने १२ सय डलरको राहत चेक पठाउन अन्य थप जानकारी चाहिने भन्दै फोन, टेक्स्ट, ईमेल र वेबसाइट मार्फत संपर्क गर्दै ठगी गर्ने समुह सकृय हुन थालेको सिएनएनले लेखेको छ ।  

न्युयोर्क एटर्नी जनरल लतिता जेम्सले सम्भावित ठगीको बिषयमा भनेकी छिन्; “यदि कसैले म सरकारी निकायबाट राहत चेक पठाउन संपर्क गरेको भन्दै तँपाईलाई संपर्क गर्छ भने उसले तँपाईको बैंक खाता लगायत अन्य ब्यक्तिगत जानकारी लिन खोज्दैछ भनेर बुझ्न्नु पर्दछ । संघीय सरकारले प्रदान गर्ने द्रुत राहत लिन योग्य हरेक ब्यक्तीले अगाडि पछाडि कसैलाई केही तिर्नु पर्दैन ।” 

एटर्नी जनरल जेम्स थप अगाडि भन्छिन्  “केही रकम तिर्यो भने राहत रकम तुरुन्तै प्राप्त गर्न सकिन्छ वा म सहुलियत ऋण तुरुन्तै उपलब्ध गराई दिन्छु भन्दै बिभिन्न प्रस्ताव सहित फोन, ईमेल वा टेक्स्ट आउन सक्छ । यस्तालाई बेवास्ता गर्नुस्” ।  

अधिकांश अमेरिकाबासी जस्ले सरकारलाई कर तिर्ने गरेका छन् उनीहरुले अबको केही हप्ता भित्र १२०० डलर प्रतिब्यक्ती तथा २४ सय डलर प्रति दम्पत्तीले प्राप्त गर्ने छन् भने १७ बर्ष मुनीका प्रति बच्चा ५ सय डलर थप हुने छ ।  द्रुत राहत रकम लगायत अन्य थुप्रै बिषयलाई सम्बोधन गर्ने गरी राष्ट्रपति  डोनाल्ड ट्रम्पले शुक्रबार बाईस खर्ब अमेरिकी डलर निकासा गर्ने कानूनीमा हस्ताक्षर गरेका थिए ।

अर्थ सचिव स्टेभन मुनचिनले बिहीवार एक टेलिभिजनसँग भने “राहत रकमवाला चेक तीन हप्ताभित्र जनताको दैलोमा पुग्छ तर कर सम्बन्धि बिज्ञहरुले भनेका छन् अर्थ सचिवले भनेको समय सिमाभित्र चेक आँउदैन किनकी आई आर एसलाई भुक्तानी सम्बन्धि काम गर्न समय लाग्छ । सरकारी राहत प्राप्त गर्न ज-जसले बिधुतीय प्रणाली (ई-फाईल ) मार्फत ट्याक्स गरेका छन् र आईआरएसलाई बैंक खाता नम्बर उपलब्ध गराएका छन्;  उनीहरुको खातामा सिधै पैसा ट्रान्सफर हुने हुँदा छिट्टै हुन्छ तर हुलाकबाट चेक प्राप्त हुन अलि लामो समय लाग्छ । अमेरिकामा सन् २०१८ मा ८८ प्रतिशतले बिद्युतीय प्रणाली मार्फत ट्याक्स फाईल गरेका थिए । राहत रकम प्राप्त गर्न कसैले पनि आईआरएसमा कुनै खाता खोल्नु पर्दैन र फोन पनि गर्नु नपर्ने आईआरएसले जनाएको छ । शुक्रबार जारी गरिएको राहत सम्बन्धि कानूनमा भनिएको छ “पैसा पठाउन थालेको १५ दिन भित्र प्रत्येक  ब्यक्तीलाई कति पैसा कुन मितीमा कुन माध्यायमबाट पठाएको खुलाएर पत्र प्राप्त हुन्छ” ।