कोरोना विशेष अस्पताल बुटवलमा एक युवकको ज्यान गयो

बुटवल । बुटवलमा एक जनाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । यद्दपी उनको मृत्युको कारण कोरोना हो कि होइन भन्ने खुलेको छैन ।

रुपन्देहीमा निर्माण गरिएको अस्थायी अस्पतालमा ३३ वर्षिय युवकको ज्यान गएको हो ।

बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा स्थायी घर भएका ३३ वर्षका युवकको मृत्यु भएको हो ।

उनको स्वाबको नमुना परीक्षणका लागि काठमाडौं पठाइए पनि रिपोर्ट भने आइनसकेको अस्पतालले जनाएको छ ।

उनी चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका थिए । चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना गएको अस्पताल स्रोतले जनाएको छ ।

उनी १३ चैतमा कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए ।