केजरीवालले भने : भारतमा कोरोना फैलियो भने नियन्त्रण सम्भव छैन

नयाँ दिल्ली । भारतीय राजधानी दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले भारतमा कोरोनाको फैलावट आएमा नियन्त्रण असम्भव भएको बताएका छन् ।

आइतबार साँझ दिल्लीबासीलाई सम्बोधन गर्दै उनले खासगरी शहर छाडेर गाउँ जान निस्किएका हजारौं मानिसलाई जहाँ छन् त्यही रहन अपिल गर्दै यस्तो चेतावनी दिएक हुन् ।

अहिले कोरोना गाउँमा फैलिएको छैन, उनले भने, फैलियो भने यो नियन्त्रणमा आउन सक्ने छैन ।

उनले चेतावनी दिँदै शहरबाट गाउँमा कोरोना लिएर नजान आग्रह गरे । दिल्ली सरकारले पर्याप्त व्यवस्था गरेको भन्दै शहरमै बसेर लकडाउन कार्यान्वयनमा सघाउन आग्रह गरे ।

उनले उद्योगी, व्यवसायीलाई आफ्ना कर्मचारीलाई पुरा तलव दिन र कर्मचारी भोकै नराख्न निर्देशन दिए ।

‘मैले पहिला पनि भनिसकेको छु, तलव त पुरा दिनु पर्नेनै छ, अब कोही कर्मचारी भोकै नरहुन, यसमा सचेत रहनु, उनले भने ।

उनले सबै ठेकेदारलाई समेत सोही आग्रह गरेका छन् । दिल्लीमा दैनिक ४ लाख मानिसलाई निशुल्क खाना उपलब्ध भएको भन्दै यो सुविधा गरिब र असहायका लागि भएको उनले बताए ।

केही हुने खाने मानिस समेत लाइनमा आएको भन्दै उनले त्यसो नगर्न आग्रह गरे । उनले दिल्लीका घरबेटीलाई गरिब मानिससँग तत्काल भाडा नलिन समेत आह्वान गरे ।

अहिले भाडा नलिन र स्थिति सामान्य भएपछि पनि भाडा तिर्न नसके सबै घरबेटीको भाडा दिल्ली सरकारले तिरिदिने घोषणा उनले गरेका छन् ।