‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी

President Donald Trump gestures as he boards Air Force One, Friday, May 15, 2026, at Beijing Capital International Airport in Beijing. (AP Photo/Mark Schiefelbein)

वासिङ्टन, ११ असार (रासस–सिन्ह्वा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘स्टेट अफ हर्मुज’ हुँदै आवतजावत गर्ने जहाजहरूमाथि कुनै पनि प्रकारको शुल्क, बीमा लागत वा अतिरिक्त कर नलगाउने जानकारी दिएको बताएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा बुधबार लेख्दै ट्रम्पले इरानबाट प्राप्त जानकारीअनुसार ‘स्टेट अफ हर्मुज’ प्रयोग गर्ने जहाजहरूबाट कुनै शुल्क असुल नगरिने उल्लेख गरे ।

उनले केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै ती विवरणहरू वास्तविकताभन्दा फरक रहेको दाबी गरे । ट्रम्पले इरानले दिएको जानकारी गलत सावित भएमा अमेरिका र इरानबीच जारी वार्ता तत्काल अन्त्य हुने चेतावनी दिए । “यदि यो जानकारी गलत भयो भने वार्ता तुरुन्तै समाप्त हुनेछ”, ट्रम्पले लेखेका छन् । अमेरिका र इरानबीच क्षेत्रीय सुरक्षा तथा आपसी सम्बन्ध सुधारका विषयमा विभिन्न चरणमा संवाद जारी रहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।