ओपेकलाई उत्पादन कोटा बढाउन बग्दादको आग्रह

बग्दाद, १२ असार (रासस–एएफपी) । बग्दादले तेल उत्पादक राष्ट्रहरूको समूह (ओपेक) लाई इराकको तेल उत्पादन कोटा बढाउन आग्रह गरेको इराकको पेट्रोलियम पदार्थमामिला हेर्ने मन्त्रालयले बिहीबार बताएकोे छ। यसमा देशको तेल उद्योगलाई इतिहासका द्वन्द्वहरू र हालको क्षेत्रीय युद्धले पु¥याएको क्षतिलाई ध्यानमा राखिएको छ । अन्य तेल उत्पादक देशहरू जस्तै, ओपेकको संस्थापक सदस्य इराक पनि मध्यपूर्व युद्धबाट निकै प्रभावित भएको छ । इराकको अर्थतन्त्र अत्यधिक तेल निर्यातमा निर्भर छ, जसले देशको बजेटको आम्दानीको स्रोतको करिब ९० प्रतिशत हिस्सा ओगट्छ ।

इराकको इन्धन मन्त्रालयले सदस्य देशहरूको ‘दिगो उत्पादन क्षमतासँग उत्पादन आधार रेखालाई मिलाउन’ पुनरावलोकन गर्नुपर्ने बताएको छ । यसमा ‘इराकको विशेष सुरक्षा तथा आर्थिक परिस्थितिलाई’ समेत ध्यान दिइनुपर्ने उल्लेख छ । मन्त्रालयले ओपेकले ‘सदस्य देशहरूको क्षमता पुनरावलोकन प्रक्रिया’ सुरु गरेको बताएको छ । इराक ओपेकबाट बाहिरिने सम्भावनाका समाचारहरू आएपछि तेल मन्त्रालयका प्रवक्ता सलीम अल–रिकाबीले एएफपीसँग भन्नुभयो, “इराकले सङ्गठनबाट बाहिरिने कुनै योजना बनाएको छैन र यसका संयन्त्रहरूप्रति प्रतिबद्ध छ।”

उहाँले थप्नुभयो, “ओपेकले इराकको उत्पादन कोटा बढाउनै पर्छ । अन्यथा, सङ्गठनमा बस्ने वा छोड्ने बारे निर्णय लिनुपर्नेछ।” उहाँका अनुसार इराकले आफ्नो क्षमता र आवश्यकता अनुसार उत्पादन बढाउन थालेको छ । मन्त्रालयले ‘इराकले ओपेकको सदस्यता समाप्त गर्ने विचार गरिरहेको’ समाचारहरूले सरकारको आधिकारिक धारणालाई प्रतिबिम्बित नगर्ने स्पष्ट गरेको छ ।

मे महिनामा संयुक्त अरब इमिराट्स ९युएई० ले ‘राष्ट्रिय हित’ र अर्थतन्त्रलाई भविष्यप्रति सुरक्षित बनाउने योजनाका कारण ओपेकबाट बाहिरिएपछि इराकको बाहिरिने सम्भावनाले ओपेकलाई थप कमजोर बनाउन सक्नेछ । इराकको मन्त्रालयले कुनै पनि परिवर्तन ओपेकको विद्यमान ढाँचाभित्र नै गरिने बताएको छ । तर दशकौँदेखिका युद्ध, प्रतिबन्ध र मध्यपूर्व युद्धका क्रममा क्षेत्रमा भएका आक्रमणपछि सदस्यहरूबीच इराकको अवस्थाप्रति ‘उच्च समझदारी’ रहेको उल्लेख गरेको छ।

यी सबै चुनौतीहरूलाई विचार गरी ‘इराकी तेल उत्पादनलाई न्यायोचित स्तरमा पु¥याउने’ सुनिश्चित गरिने बताइएको छ । मध्यपूर्व युद्ध र इरानले हर्मुज जलडमरू खण्डमा लगाएको नाकाबन्दीले आपूर्ति अवरुद्ध गर्दा इराकसहित प्रमुख तेल उत्पादक देशहरूमा उत्पादन कटौती भएको थियो, जसले विश्व ऊर्जा बजारलाई प्रभावित पारेको थियो । यो प्रभाव अहिले पनि देखिएको छ। युद्धका क्रममा इराकका केही तेल क्षेत्रमा मुख्य रूपमा इरान समर्थक सशस्त्र समूहहरूले पठाएका ड्रोनबाट हमला भएका थिए।

युद्धअघि इराकले दैनिक करिब ४० लाख ब्यारेल तेल उत्पादन गथ्र्यो र दैनिक औसत ३५ लाख ब्यारेल निर्यात गथ्र्यो, जसमध्ये अधिकांश हर्मुज हुँदै हुन्थ्यो। वाशिङटन र तेहरानबीच युद्ध समाप्त गर्ने सम्झौतापछि इराकले अब दुई महिनाभित्र आफ्नो पुरानो उत्पादन स्तरमा फर्किने आशा गरेको छ।एक पूर्व तेल मन्त्रालयका अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा इराकको ओपेकबाट बाहिरिने कदमको विरोध गर्नुभयो । उहाँले भन्नुभयो, “बाहिरिने कदमले इराकको हितमा काम गर्दैन, किनकि यो पूर्ण रूपमा तेल व्यापारमा निर्भर छ।”

रिस्टाड इनर्जीका विश्लेषक जर्ज लियोनले भन्नुभयो, “मलाई लाग्छ, इराकसँग ओपेक छोड्ने वास्तविक प्रोत्साहन छ।” बदलामा उनले भने, इराकले समूहले हाल गरिरहेको “क्षमता पुनरावलोकन अभ्यास” मा दबाब दिन खोजेको हुन सक्छ, जुन सन् २०२७ को कोटाको आधार बन्नेछ।