नेपाली फुटबल संघ यूएईको महासभा सम्पन्न

२१ असार, यूएई । यूएईमा क्रियाशील नेपाली फुटबल क्लबहरुको एसोसिएसन नेपाली फुटबल संघ (अन्फा)को तेस्रो महासभा सम्पन्न भएको छ । बरदुबईको काष्टमण्डप रेष्टुरेण्टमा भएको उक्त महासभाले दीपेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ निर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा रोबिन श्रेष्ठ र विनोद भण्डारी रहेका छन् भने महासचिवमा सरोज उप्रेती रहेका छन् । त्यस्तै, सचिवमा देव राई र दुर्गा ढकाल छन् भने कोषाध्यक्षमा नरेश रिमाल छन् । सहकोषाध्यक्षमा दीपक थापा रहेका छन् । कार्यसमिति सदस्यहरुमा क्रमशः मिलन तामाङ, प्रमोद कार्की र दिपेन्द्र बानियाँ रहेका छन् ।


अध्यक्ष पदमा निर्वाचित दिपेन्द्र भण्डारीले धन्यवाद ज्ञापन गर्दै प्रवासमा रहेर पनि सबैलाई मिलाएर अगाडि बढ्ने बताए । साथै यूएईमा नेपाली फुटबलको विकास, एकता र खेलकुद प्रवद्र्धनमा नयाँ उचाइ हासिल गर्न सक्दो प्रयास गर्ने नयाँ कार्यसमितिले प्रतिबद्धतासमेत जनाए ।

रोजगारी, व्यवसाय, अध्ययन वा अन्य कारणले यूएईमा रहेका नेपाली फुटबलप्रेमीहरु मिलेर स्थापना गरेका विभिन्न स्थान, क्षेत्र लगायतका आधारमा करिब दुई दर्जन नेपाली फुटबल क्लबहरु सक्रिय रहेका छन् । उक्त क्लबहरुमा नेपालको जिल्ला, प्रदेश र राष्ट्रिय टिममा खेलिसकेका खेलाडीहरु पनि समावेश रहेका छन् । उक्त क्लबहरुले विभिन्न समयका फुटबल प्रतियोगिताहरु गर्दै आइरहेका छन् ।