न्यूयोर्क । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढिरहेको अमेरिकामा संक्रमितको संख्या २ लाख नाघेको छ । यो संख्या संसारमा कुनै एक देशमा भएको सर्वाधिक संक्रमण हो ।
संचारमाध्यमहरुका अनुसार अमेरिकामा बुधबार साँझसम्म २ लाख १३ हजार ३ सय ७२ जनामा यसको पुष्टी भइसकेको छ ।
यो भाइरसको संक्रमण अमेरिकामा तिब्र रुपमा बढिरहेको छ । अमेरिकामा ४ हजार ७ सय ५७ जनाको निधन भइसकेको छ ।
यसमा पनि न्यूयोर्कमा बढी क्षेत्र प्रभावित बनेको छ । कोरोना संक्रमणका कारण इटलीमा सबैभन्दा धेरै मानिसहरुको ज्यान गएको छ।
उक्त मुलुकले १३ हजार १ सय ५५ जना नागरिक गुमाइसकेको छ । अमेरिकाको न्यूयोर्कबाहेक अन्य राज्यमा पनि अझ डरलाग्दो अवस्था आउन सक्ने चेतावनी स्वास्थ्य अधिकारीहरुले दिएका छन् ।
संक्रमितको संख्या बढेसँगै स्वास्थ्य सामग्रीको अभाव अमेरिकामा पनि उस्तै छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्कलाई स्टेरिलाइज गरेर पटक–पटक प्रयोग गर्न सकिने समेत बताइसकेका छन् । यसले उक्त मुलुकमा भएको स्वास्थ्य सामग्रीको अभावलाई दर्शाएको छ ।
तर, अमेरिकामा लकडाउन गर्नेबारे भने कुनै योजना नरहेको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् । यहाँ अहिले बाहिरबाट आउने मानिसहरुलाई रोकिएपनि मुलुक भित्र भने निर्वाध आवतजावत भइरहेको छ ।
लकडाउनपछि देशको अर्थव्यवस्थामा असर पर्नसक्ने भन्दै राष्ट्रपति लकडाउनको पक्षमा पुगेका छैनन् ।
उनले धेरै मानिसको परिक्षणबाटै यस भाइरसको संक्रमणसँग जुध्ने योजना रहेको स्पष्ट पारेका छन् ।