जोहानेसबर्ग, २८ असार (रासस–एएफपी) । अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका ‘मिडफिल्डर’ जेडेन एडम्सको शनिबार निधन भएको छ । खेलकुद मन्त्री गेटन म्याकेन्जीले उनको निधनको पुष्टि गरे । तर निधन हुनुको कारण भने बताएनन् । खेलकुद मन्त्री म्याकेन्जीले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, “जेडेन एडम्सको निधनको खबरले मलाई स्तब्ध बनाएको छ। दक्षिण अफ्रिकी फुटबलले आफ्नो सबैभन्दा उज्ज्वल युवा प्रतिभा गुमाएको छ।”
प्रहरीले शनिबार बिहान केप टाउनको केन्द्रीय उपनगर स्कोट्सचेकलुफमा एउटा घरमा २५ वर्षीय उनको शव फेला परेपछि अनुसन्धान सुरु गरेको बताएको छ । “यो घटनाको बारेमा अनुसन्धान भइरहेको छ,” वेस्टर्न केप प्रहरी प्रवक्ता एफसी भ्यान विकले बताए । एडम्सले प्रतियोगितामा दक्षिण अफ्रिकाको समूह चरणका सबै तीन खेल खेलेका थिए । क्यानडासँगको नकआउट चरणमा उनी मैदानमा उत्रिएनन् । दक्षिण अफ्रिकाका नकआउट चरणबाट नै यो बर्षको विश्वकप खेलबाट बाहिरिएको थियो ।
केप टाउनमा जन्मिएका उनले स्टेलनबोस एफसीबाट व्यावसायिक करियर सुरु गरेका थिए । सन् २०२५ को जनवरीमा काफ च्याम्पियन्स लिग विजेता ‘मामेलोडी सन्डाउनस् क्लब’ मा आवद्ध भएका थिए । उनको निधन दक्षिण अफ्रिकाको समूह ए को चेकियाविरुद्धको खेलको पूर्वसन्ध्यामा आफ्नी हजुरआमाको निधन भएको एक महिना पनि नबित्दै भएको हो। “जेडेनले चेक गणतन्त्रविरुद्धको खेलमा सुरुदेखि नै खेल्न सुरु गर्नुभएको थियो र हजुरआमाको निधनको पीडा बोकेर पनि आफ्नो सबै मेहनत दिएका दक्षिण अफ्रिकी फुटबल सङ्घले खेलपछि उनको खेलप्रतिको इमान्दारिता र त्यागको प्रशंसा गर्दै भनेको थियो।