वार्सा, २८ असार (रासस–एएफपी) । दोस्रो विश्वयुद्धमा ‘युक्रेनी राष्ट्रवादी’ समूहद्वारा गरिएको ‘नरसंहार’ मा शाहदत भएका पोल्याण्डका नागरिकहरूको सम्झनामा नयाँ स्मारक निर्माण गर्ने घोषणा गरेको छ । दोस्रो विश्वयुद्धमा ‘युक्रेनी राष्ट्रवादी’ समूहद्वारा गरिएको ‘नरसंहार’ मा ज्यान गुमाउने नागरिक लागि नयाँ स्मारक निर्माण गर्ने घोषणा पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले शनिबार गरेका हुन् ।
“वार्सामा सम्झनाको पर्खाल खडा गरिनेछ, जसमा सधैं बलिरहने ज्वाला र फेला परेका तथा पहिचान गरिएका हरेक पीडितको नाम लेखिनेछ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् । वार्सा र किएभ दोस्रो विश्वयुद्धका क्रममा दुवै पक्षका नागरिक हत्याकाण्डबारे दशकौँदेखि विवादमा छन्, जसले उनीहरूको सम्बन्धमा तगारो देखिँदै आएको छ ।
पोल्यान्डले रुसको आक्रमणविरुद्ध लडिरहेको आफ्नो छिमेकी युक्रेनलाई समर्थन गरिरहेका समय यो विवादले अझ बढी महत्व पाएको छ । टस्कको यो घोषणा सन् १९४३ को ‘ब्लडी सन्डे’ को पूर्व सन्ध्यामा आएको हो, जतिबेला युक्रेनी इन्सर्जेन्ट आर्मी ९युपिए० र युक्रेनी राष्ट्रवादी सङ्गठन (ओयुएन)का इकाइहरूले युक्रेनको उत्तर–पश्चिम क्षेत्रको भोल्हिनियामा हजारौँ पोल्याण्डबासीलाई मारेका थिए।
पोल्यान्डका अनुसार सन् १९४३ देखि १९४५ सम्म ७० हजार देखि एक लाख नागरिक मारिएका थिए भने प्रतिकारमा करिब १२ हजार युक्रेनीको पनि ज्यान गएको अनुमान गरिएको थियो । युपिए र ओयुएनलाई युक्रेनमा रेड आर्मी र सोभियत सङ्घविरुद्ध स्वतन्त्रताको लागि लडेका समूहको रूपमा हेरिन्छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मे महिनामा युपिएको नाममा एउटा सैन्य इकाई नामकरण गर्ने घोषणा गरेपछि पोल्यान्डमा ठूलो आक्रोश उत्पन्न भएको थियो। प्रतिकारस्वरूप, पोल्यान्डका राष्ट्रपति कारोल नावरोकीले जेलेन्स्कीलाई देशको सर्वोच्च सम्मानको सूची ‘अर्डर अफ द ह्वाइट इगल’ बाट हटाउनुभएको थियो ।
–घाउ निको पार्ने पहल–
युरोपेली परिषद्का पूर्व अध्यक्ष तथा रुसविरुद्ध युक्रेनका दृढ समर्थक डोनाल्ड टस्कले भने, “स्मृति र सत्यले हामीलाई घृणा र तिरस्कारबिना राम्रो भविष्य निर्माण गर्न मद्दत गर्नुपर्छ।” “शान्ति र पारस्परिक सम्मानको युरोप, दोस्रो विश्वयुद्धपछि मिलाप गरेको युरोप, सत्य र कुराहरूलाई सही नामले बोलाउने माध्यमबाट सम्भव भएको हो”, टस्कले भने, “यो समुदायमा सामेल हुन चाहने जो कोहीले पनि यो सत्यको लागि तयार हुनुपर्छ।”
उत्तर–पश्चिम युक्रेनको ओलिका शहरमा, पोल्यान्डका रक्षामन्त्री व्लाडिसलाभ कोसिनियाक–कामिस्जले युद्धमा मारिएका नागरिकहरूको सम्झनामा आयोजित समारोहलाई सम्बोधन गर्दै वार्सा र किएभले ‘अतीतको भूमिका स्वीकार गरेर राम्रो भविष्य निर्माण गर्न’ सँगै अगाडि बढ्नुपर्ने बताए । “मित्रता भनेको एकअर्कालाई सत्य बताउनु हो र यो कठिन यथार्थ हो,” उनले भने, “म पुराना घाउहरू खोल्न होइन, निको पार्न’ यहाँ आएको हुँ।”
किएभसँगको मुख्य रेल लिङ्क रहेको पोल्यान्डको दक्षिण–पूर्वी सीमावर्ती शहर चेल्ममा पनि भोल्हिनियामा मारिएकाहरूका लागि प्रस्तावित सङ्ग्रहालयस्थलमा समारोहहरू आयोजना भएका छन् । शहरका मेयर याकोब बनान्स्जेकले भने, “यी सम्झनाहरू आजको युक्रेन वा यसका नागरिकहरूविरुद्ध लक्षित छैनन् र विभाजन वा शत्रुता फैलाउन होइनन्। यी त केवल ऐतिहासिक घटनाका पीडितहरूको सम्झनाको अभिव्यक्ति मात्र हुन् ।”