काठमाडौं । सरकारले कोरोना भाइरसको उपचार तथा नियन्त्रण गर्न स्थापना गरेको कोषमा बिहीबारसाँझ सम्म अर्ब ९ करोड रुपैयाँ जुटेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा उक्त रकम जम्मा भइसकेको छ ।
यअअघि सरकारले ५० करोड रुपैयाँ राखेर यस्तो कोष स्थापना गरेको थियो । जम्मा भएको रकम भने सरकारले राखेको रकमभन्दा बाहेक हो ।
कार्यालयका अनुसार बिहीबार साँझ सम्म कोषमा १ अर्ब ९ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैया जम्मा भएको छ। कोषमा बिहिबार मात्रै ८४ करोड ५१ लाख ५० हजार १ सय २४ रुपैयाँ थपिएको थियो ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले सार्वजनिक गरेको विवरण अनुसार कोषमा नेपाल आयल निगमले ५० करोड र नेपाल दुरसञ्चार प्राधिकारणले १५ करोड रकम जम्मा गरेका छन् ।
कर्मचारी संचयकोष, नेपाल धितोपत्र बोर्ड र निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन–तीन करोड रुपैयाँ राखेका छन् ।
नेपाल स्टक एक्चेन्जले ३ करोड ५१ लाख सहयोग गरेको छ । नागरिक लगानीकोषले २ करोड रुपैयाँ राखेको छ ।
कोषमा नेपाल पुनर्वीमा कम्पनीले १ करोड १ लाख ११ हजार दिएको छ ।
एनएमबी बैंकले १ करोड, ५१ लाख, प्रभु बैंकले १ करोड एक लाख, नेपाल ईन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ जम्मा गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले घोषणा गरेको रकम भने कोषमा आइपुगको छैन ।
सरकारी निकायबाट धमाधम रकम आएपनि केही बैंकबाहेक निजी क्षेत्रका कर्पोरेट हाउसहरुले भने सरकारी कोषमा रकम जम्मा गरेका छैनन् ।