नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ब्लाकआउट घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उक्त आह्वान गरेका हुन् ।
उनका अनुसार ५ अप्रिलका दिन रातको ९ बजे ९ मिनेटका लागि देशभर लाइट अफ गरिने छ । त्यसक्रममा मैनवत्ति र दियो बालेर कोरोना विरुद्धको अभियानमा ऐकिवद्धता जनाउन उनले देशबासीलाई आह्वान गरेका छन् ।
यसले यो रोगको लडाईमा १ सय ३० करोड जनता एक साथ छन् भन्ने सन्देश प्रवाह हुने प्रधानमन्त्री मोदीको दावि छ । यसले कोरोनाविरुद्ध लडिरहेका अभियन्ताहरुलाई समेत हौसला प्रदान गर्ने उनको भनाई छ ।
भारतमा पछिल्लो समय कोरोनाको संक्रमण बिस्तार बढ्दै गएको छ । ठूलो जनसंख्या र कमजोर स्वास्थ्य प्रणाली भएका कारण भारतलाई यस रोगले चिन्तित बनाएको छ ।
खासगरी भारतमा लकडाउन उल्लंघनको समस्या पनि उत्तिकै रहेको छ । भारतमा अहिले २१ दिनको लकडाउन चलिरहेको छ ।
प्रधानमन्त्री मोदीले कोरोना संकटको अन्धकारबाट अझ अगाडी बढ्नुपर्ने चूनौति रहेको बताए ।
खासगरी गरिब मानिसमा फैलिएको अनिश्चितता र अन्धकार चिर्न समेत जनताको ऐकिवद्धता आवश्यक रहेको उल्लेख गरे । मोदीले यस अभियानलाई जागरण अभियानको नाम दिएका छन् ।