बहराइनमा रहेका नेपालीबारे प्रधानमन्त्रीले राखे चासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा बहराइन पुगेका नेपालीबारे चासो व्यक्त गरेका छन् । कोरोना भाइरस कोभिड १९ को महामारीका कारण प्रभावित भएका नेपालीका सन्दर्भमा प्रधानमन्त्रीले चासो राखेका हुन् ।

प्रधानमन्त्रीले बहराइनका समकक्षीसँग शनिबार टेलिफोन गरी त्यहाँ रहेका नेपालीहरुको बारेमा चासो व्यक्त गरेको जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले आधिकारिक ट्वीटर ह्याण्डल मार्फत् यस विषयको जानकारी दिएका छन् ।

बहराइनका समकक्षीबाट त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको प्रधानमन्त्रीको भनाई छ ।

कोभिड १९ का सन्दर्भमा नेपाली श्रमिक बढी रहेका मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्न थालेको समेत प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

यसले निरन्तरता पाउने उनको भनाई छ । बहराइनमा एक पटक ९ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ ।

उनीहरु एकै क्याम्पमा बसेको बताइएको छ । सोहीकारण प्रधानमन्त्रीले आफ्ना नागरिकबारे चासो राखेका हुन् ।