एनआरएनएले सुरु गर्‍यो आर्थिक सहयोग संकलन अभियान

अमेरिका

गैर आवासीय नेपाली संघले नेपाल र नेपाल बाहिर रहेका कोभिड–१९ का कारण प्रभावित नेपालीको सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । 

नेपाल सरकारलाई  यस अघिनैं १ करोड सहयोग गर्ने प्रतिवद्वता गरेको संघले त्यस बाहेक पनि एनआरएनए कोभिड–१९ राहत कोषको स्थापना गरी आर्थिक सहयोग संकलन अभियान अगाडि बढाएको हो । 

संघका अध्यक्ष कुमार पन्तले कोषमा संकलन हुने रकम आवश्यकता अनुरुप नेपाल र नेपाल बाहिर रहेका नेपालीको सहयोगका लागि खर्च गरिने  बताए । 

संघले एनआरएनए डट ओआरजी वेभसाइटमा गई डोनेट मार्फत तथा एनआरएनए रेस्पेक्टआइएनसी डट नेट वेभसाइटमा गई अनलाईन मार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्था मिलाएको छ । साथैं संघले सानिमा बैंकमा खोलेको संघको बैंक खातामा समेत सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ । 

संघका अध्यक्ष पन्तका अनुसार कोषमा सहयोग संकलनको कार्य तिव्र भइरहेको छ । संघ अन्तर्गत विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुले समेत आर्थिक सहयोग कोष बनाएर समेत ती देशहरुमा आर्थिक सहयोग संकलन गरिरहेको जानकारी अध्यक्ष पन्तले दिए । 

आर्थिक सहयोग संकलन अभियानवाट यति नैं रकम उठाउने भनी लक्ष्य नराखिएको भएपनि करिव ३ करोड जम्मा हुने अपेक्षा राखिएको संघले जनाएको छ ।

संघले गैर आवासीय नेपाली संघ दक्षिण कोरिया शाखाले खरिद गरेको करिव १ करोड बढी बराबरको स्वास्थ्य सामाग्री समेत नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ भने पूर्ववत १ करोड सहयोगको प्रतिवद्वता अनुरुप नेपाल सरकारले भने बमोजिम थप आवश्यक सामाग्री पठाइने अध्यक्ष पन्तले जानकारी दिए । 

संघले निर्माण गरेको कोभिड–१९, एनआरएनए उच्च स्तरीय समन्वय समिकिा संयोजक समेत रहनुभएका एनआरएनए अध्यक्ष पन्तले अहिलेको यो विषम परिस्थितिमा सबैं एक भएर अघि बढ्नुपर्ने बताए । उनले अन्तराष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद् मार्फत विभिन्न देशमा समस्यामा परेका विद्यार्थी देखि सबैं नेपालीलाई आवश्यक सहयोगको कार्य भैरहेको जानकारी दिए । संघको हाल सम्म ८१ देशमा राष्ट्रिय समन्वय परिषद् रहेको छ । 

विश्वभर करिव ८० लाख गैर आवासीय नेपाली रहेको बताइन्छ । पछिल्लो समय कोभिड–१९ महामारीको प्रकोप बढिरहेको अमेरिका तथा  युरोपका देशहरुमा गैर आवासीय नेपालीको बसोबास बढी रहेको छ । कोभिड–१९ को संक्रमणका कारण ५ जना गैर आवासीय नेपालीको ज्यान गएको छ ।