१४ साउन, काठमाडौं । पाकिस्तानमा हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी गोरखा, धार्चे गाउँपालिका–४ लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङको निधन भएको पुष्टी भएको छ । अल्पाइन क्लव अफ पाकिस्तानले उनको निधनको पुष्टी गरेको बीबीसीले जनाएको छ ।
उनको निधनमा लाप्राकसहित समग्र गोरखा जिल्ला शोकमा डुबेको छ। नेपाली पर्वतारोहण क्षेत्रमा उनको उच्च कद थियो । ३८ वर्षीय गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक तथा आठ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल २८ पटक सफलतापूर्वक आरोहण गरिसकेका थिए । लामो समयदेखि अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियानमा सक्रिय रहँदै उनले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
पर्वतारोहणसँगै गुरुङ सामाजिक सेवामा पनि उत्तिकै समर्पित थिए । लाप्राक तथा गोरखाका विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी तथा विभिन्न सामाजिक संस्थालाई नियमित रूपमा सहयोग गर्दै आएका धार्चे–४ का वडाध्यक्ष किसान गुरुङले बताए । पारिवारिक स्रोतका अनुसार विगत एक महिनादेखि पाकिस्तानमा रहेका गुरुङको बिहीबार बेलुकासम्म परिवारसँग सम्पर्क भएको थियो ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका प्रशासक शोभित कुँवरले हिमपहिरोमा परेका गुरुङको शव पहिचान भइसकेको र अब कानुनी प्रक्रिया पुरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको बताए । हिमपहिरोमा परी ६ जना नेपाली आरोहीसहित १० बेपत्ता भएका थिए । त्यसमध्ये ४ शव फेला परेकोमा दुई जनाको पहिचान भएको छ । एक नेपाली आरोही र अर्का ओमानका आरोहीको पहिचान भएको हो ।