नेवा: नख न्यूयोर्कका सल्लाहकार अजयमान छोंच्छुको निधन

अप्रिल ४, न्यूयोर्क

नेवा:नख न्यूयोर्कका सल्लाहकार तथा समाजसेवी अजय मान छोंच्छुको आज साँझ न्यूयोर्कस्थित एल्महर्ष्ट अस्पतालमा ६४ वर्षको उमेरमा असामयीक निधन भएको छ । ज्वरोको कारण निमोनिया भएपछि निजलाई २ हप्ता अघि अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्थामा सुधार आएकोले भोली अस्पतालबाट डिस्चार्ज गरी घर पठाउने तयारी गरिरहेकै अवस्थामा एक्कासी हृदयघात भई दुखद निधन भएको नेवा :नखका अध्यक्ष बिष्णुमान प्रधानले बताए । उहाँको स्वास्थ्यमा सुधार आईसकेको र कोरोनाभाइरस समेत नेगेटिभ रहेकोले परिवार सहित शुभचिन्तक समेत निश्चिन्त थिए ।

बिगत २५ वर्षदेखि अमेरिकामा बस्दै आएका छोंच्छु टेक्सासबाट ८ वर्ष अघि न्यूयोर्क सरेका थिए । श्रीमती संगीताका साथ न्यूयोर्कको क्वीन्समा वसोवास गर्दै आएका उनी सबै सामाजिक गतिबिधिमा संलग्न हुनुहुन्थ्यो । समुदाय र समाजसेवाको लागि उहाँको योगदान अग्रणी थियो । उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं ।