काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको नयाँ संक्रमण फेला परेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिंगका दौरान यस्तो जानकारी गराइएको हो ।
यसअघि शुक्रबार भने एकै दिन ३ जनामा कोरोनाको पुष्टी भएको थियो । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना पुष्टी भएको छ ।
जसमध्ये ८ जना उपचारार्थ छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र परिसरको क्वारेन्टाइनमा राखिएका सबैको रिर्पोट नेगेटिभ आएको छ ।
यहाँ कूल ९४ जना व्यक्ति क्वारेन्टाइमा बसेका थिए । यहाँ विभिन्न देशबाट आएका व्यक्तिलाई राखिएको छ ।
उनीहरु सबैको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उल्लेख गरे ।
सरकारले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको क्वारेन्टाइनमा राखिएको थियो ।
देवकोटाका अनुसार अहिलेसम्म १५२९ नमूना परीक्षण गरिएको छ । राष्ट्रिय प्रयोगशालासहित पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण शुरु भएको छ ।
चितवनमा र बुटवलमा समेत परीक्षण शुरु गर्ने तयारी रहेको छ ।
काठमाडौंमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा रहेका छन् । मन्त्रालयको मोबाइल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेको संखया ८ हजार ९७ पुगेको छ ।