यूएईमा घर बेच्दै किशोर

यूएई । के यूएईमा घर किन्न चाहनुहुन्छ ? घर, जग्गा, फ्ल्याट र अन्य प्रोपर्टीमा लगानी गर्न चाहनुहुन्छ ? नेपाली प्रवर्तक किशोर शाक्यलाई सम्झिए पुग्छ । सन् २००५ मा भिजिट भिसामा यूएई आएका किशोर प्रोपर्टी कन्सल्टेन्ट (रियल इस्टेट ब्रोकर) हँुदै आज के एण्ड कोर रियल इस्टेट एलएलसी स्थापना गरेर त्यसको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सफल भएका छन् । उनै किशोरको सफलताको कथा उनकै शब्दमा :

२००५ डिसेम्बर १३ । त्यो दिन मेरो जीवनको एउटा नयाँ अध्याय शुरु भएको दिन थियो । गृहयुद्धको पीडाले आक्रान्त नेपाल छाडेर म आफ्ना ६ जना साथीसँग भ्रमण (भिजिट) भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) आइपुगें । भविष्य कस्तो हुनेछ भन्ने कुनै निश्चितता थिएन । कलेजको पढाइ अधुरै थियो । अनुभव शून्य थियो । तर मनमा एउटा सपना थियो– मेहनत गरेर आफ्नो भविष्य आफैं निर्माण गर्ने ।


मेरो पहिलो गन्तव्य बन्यो रस अल खैमाह । कुनै अनुभव नभए पनि पाँचतारे होटलमा वेटरको काम गर्ने अवसर पाएँ । शुरुआत सहज थिएन तर प्रत्येक चुनौतीलाई सिकाइको अवसरका रुपमा लिएँ । इमानदारी, निरन्तर मेहनत र सिक्ने चाहनाका कारण मैले क्रमशः पदोन्नति प्राप्त गर्दै व्यावसायिक यात्रा अघि बढाएँ । होटल क्षेत्रमा काम गर्दा संसारभरका मानिसहरुसँग भेट्ने, उनीहरुको संस्कृति बुझ्ने र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने अनुभवले मेरो व्यक्तित्व र सोचलाई नयाँ उचाइमा पु¥यायो ।


सन् २०११ मा मैले पर्यटन क्षेत्रमा ट्राभल कन्सर्जका रुपमा नयाँ यात्रा शुरु गरें । पाँच वर्षसम्म अन्तर्राष्ट्रिय पर्यटकहरुसँग काम गर्दै ग्राहक सेवा, व्यवस्थापन र सम्बन्ध निर्माणका क्षेत्रमा महत्वपूर्ण अनुभव हासिल गरें । सन् २०१६ मा पर्यटन क्षेत्रमा कार्यरत रहँदै रियल इस्टेट क्षेत्रमा पनि पहिलो पाइला चालें । यही क्षेत्रमा मेरो भविष्य देख्न थालेको थिएँ । अन्ततः सन् २०१९ मा पूर्णकालीन रुपमा रियल इस्टेट व्यवसायमा समर्पित हुने निर्णय गरें । संयोगवश त्यसको केही समयपछि विश्वलाई कोभिड–१९ महामारीले प्रभावित बनायो । पर्यटन उद्योग लगभग ठप्प भयो, तर मैले त्यो संकटलाई अवसरमा बदल्ने अठोट लिएँ ।


प्रोपर्टी कन्सल्टेन्ट (रियल इस्टेट ब्रोकर)का रुपमा शुरु भएको यात्रा आज के एण्ड कोर रियल इस्टेट एलएलसी स्थापना गरेर त्यसको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सफलतासम्म आइपुगेको छ । आज म विश्वभरका लगानीकर्ता तथा परिवारहरुलाई यूएईको तीव्र गतिमा विकास भइरहेको रस अल खैमाहमा लगानीका अवसरहरु पहिचान गराउन सहयोग गरिरहेको छु । दुई दशकभन्दा बढी समयदेखि यही भूमिलाई आफ्नो दोस्रो घरका रुपमा अपनाउन पाएकोमा म गर्व गर्छु ।


रस अल खैमाह आज विश्वको ध्यान आकर्षित गरिरहेको इमिरेट्स हो । यूएई तथा सम्पूर्ण खाडी क्षेत्रकै पहिलो गेमिङ रिसोर्ट विन अल मर्जान परियोजनासँगै यहाँ पर्यटन, आतिथ्य, पूर्वाधार र रियल इस्टेट क्षेत्रमा अभूतपूर्व सम्भावनाहरु सिर्जना भइरहेका छन् । यस्ता अवसरहरुलाई सही ढंगले उपयोग गर्न चाहने लगानीकर्ताहरुका लागि म आफ्नो अनुभव र ज्ञान बाँड्न सधैं तत्पर छु ।


विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँग मेरो एउटा विनम्र आग्रह छ– आफ्नो मातृभूमिलाई कहिल्यै नबिर्सनुहोस् । जहाँ भए पनि नेपालसँगको सम्बन्ध जीवित राख्नुहोस् । यदि अवसर देख्नुहुन्छ भने नेपालमा लगानी गर्नुहोस् । व्यवसाय गर्नुहोस्, रोजगारी सिर्जना गर्नुहोस् र देशको समृद्धिमा आफ्नो योगदान दिनुहोस् । नेपालमा गरिएको लगानी केवल आर्थिक निर्णय होइन, त्यो आफ्नै माटो, आफ्नै पहिचान र भावी पुस्ताप्रतिको जिम्मेवारी पनि हो ।


यदि तपाईं अन्तर्राष्ट्रिय रुपमा आफ्नो लगानी विस्तार गर्न चाहनुहुन्छ भने यूएई, विशेषगरी रस अल खैमाह, उत्कृष्ट गन्तव्य बन्न सक्छ । यहाँको दुई दशकभन्दा लामो बसाइ र रियल इस्टेट क्षेत्रमा हासिल गरेको अनुभवका आधारमा तपाईंलाई सही निर्णय लिन आवश्यक मार्गदर्शन गर्न पाउँदा मलाई खुशी हुनेछ ।


मेरो जीवनयात्राले मलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ– सफलताको शुरुआत तपाईं कहाँबाट गर्नुभयो भन्ने होइन, तपाईंले आफ्नो लक्ष्यप्रति कति इमानदारीका साथ निरन्तर प्रयास गर्नुभयो भन्ने हो । त्यसैले ठूलो सपना देख्नुहोस् । कडा मेहनत गर्नुहोस् । सिक्न कहिल्यै नछोड्नुहोस् । विनम्र रहनुहोस् । विवेकपूर्ण लगानी गर्नुहोस् । र जीवनको जुनसुकै उचाइमा पुगे पनि आफ्नो जन्मभूमि र आफ्ना जरा कहिल्यै नबिर्सनुहोस् । त्यही नै वास्तविक सफलता हो ।

किशोर शाक्य
संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)
के एण्ड कोर रियल इस्टेट एलएलसी
[email protected]