ह्वाईट हाउसले भन्यो आगामी दुई हप्ता ग्रोसरी गर्न र औषधी किन्न पनि बाहिर नजाऊ

न्युयोर्क

अमेरिकी राष्ट्रपति कार्यालयको कोरोना भाइरस कार्यदलले आगामी दुई साता अझै डरलाग्दो परिस्थिति सिर्जना हुने बताएको छ । भाइरस संक्रमणको उच्च जोखिम बाँकी रहेको कारण कार्यदलले सकेसम्म दैनिक उपभोग्य बस्तु किनमेलका लागि पनि बाहिर नजान अनुरोध गरेको हो ।

कोरोना भाइरस कार्यदलका सदस्य डा. डेबराह ब्रिक्सले शनिबार साँझको पत्रकार सम्मेलनमा भनिन् “आगामी दुई हप्ता अति नै महत्वपूर्ण  छ । यो अवधिभर मिलेसम्म ग्रोसरी गर्न स्टोरमा र औषधी किन्न फार्मेसीमा नजानु उपयुक्त हुन्छ ।”

आईतबार साँझसम्म ९ हजार ५ सयको मृत्‍यु र ३ लाख ३४ हजार संक्रमित भएर अमेरिका कोरोना संक्रमितको संख्यामा विश्वमा नै नम्बर एक बनेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारको पत्रकार सम्मेलनमा भने “सबैभन्दा खराब समय आउन बाँकी नै छ । यो हप्ता र आगामी हप्ता सम्भबतः त्यो कठिन अवधि हुनेछ” ।  यो अवधिमा धेरै ठूलो संख्यामा मृत्युको समाचार आउने समेत उनले बताए । । ४ हजार १ सय ६० को मृत्‍यु र १ लाख २३ हजार संक्रमित भएर न्युयोर्क राज्य अमेरिकाकै कोरोना ईपिसेन्टर बनेको अवस्थामा गभर्नर एन्ड्रु कुमोले पनि चेतावनी दिदै भनेका छन् “संघर्षको पहाडको टुप्पोमा पुग्न नै बाँकी छ ।”