मनिला । कोरोना भाइरसको त्रासका बीच सबैजसो मुलुकले लकडाउन घोषणा गरेका छन् । तर, केही उच्छृंकल मानिसका कारण प्रहरीलाई लकडाउन कार्यान्वयनमा समस्या परिरहेको छ ।
त्यसकारण प्रहरीले लकडाउन तोड्ने मानिसमाथि अनेक प्रकारका कारवाही गरिरहेको छ ।
भारतमा लकडाउन तोड्नेलाई प्रहरीले लाठिले चुट्ने गरेको छ । नेपालमा मानिसहरुलाई सडकमा दुई घण्टा उभ्याएर क्लास दिने गरिन्छ ।
तर, फिलिपिन्समा भने प्रहरीले गोली नै चलाउनु परेको छ ।
जसका कारण एक जनाको ज्यान गएको छ । संचारमाध्यमहरुका अनुसार कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन तोड्नेमाथि गोली प्रहार भएको थियो । जसमा एक जनाको ज्यान गएको हो ।
दक्षिण अगुसान प्रान्तको नासिपित शहरमा बिहीबार एक ६३ बर्षीय पुरुषमाथि प्रहरीले गोली चलाएको थियो ।
लकडाउन नतोड्न आग्रह गर्दा प्रहरीमाथी नै धारिलो हतियार देखाएर आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली हान्नु परेको बताइएको छ ।
बुधबार राष्ट्रपति रोड्रिगो डुटेर्टले लकडाउनको अवज्ञा गर्नेमाथि गोली चलाउन सक्ने अधिकार प्रहरीलाई दिएका थिए ।
कोरोनाको संक्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने भएका कारण संसारभर लकडाउनमा कडाई गरिएको छ ।