प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही साता नेपालले कठिन अवस्थाका सामना गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समुदायमा कोरोनाको सन्त्रास नफैलियोस भन्नकै लागि लकडाउन लम्ब्याउनु परेको उल्लेख गरे ।

सरकारले आजबाट लकडाउन ८ दिन थपेको छ । सम्बोधनका क्रममा उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुन सक्ने भन्दै त्यसका लागि तयार रहनु आग्रह गरेका छन् । सरकारले पहिलो पटक ११ चैतबाट लकडाउन शुरु गरेको थियो ।

त्यो लकडाउन १८ चैतसम्मका लागि थियो । तर, कोरोनाका संक्तमित बढ्दै गएपछि लकडाउन २५ चैतसम्म सारिएको थियो । तर, त्यसपछि पनि लकडाउन भने लम्बिएर ३ बैशाखसम्म पुगेको छ ।

प्रधानमन्त्रीका अनुसार अबको दुई साता कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै नभई समुदायमा फैलिने उच्च जोखिमको अवधि समेत भएको भन्दै सचेत गराएका छन् ।

प्रधानमन्त्रीले मेडिकल सामग्री खरीदमा भएको अनियमितता र त्यसपछि भएको सरकारको आलोचनाको समेत बचाउ गरेका छन् ।

सरकारले स्वास्थ्य सामाग्री आपूर्तिको जिम्मा अहिले नेपाली सेनालाई दिएको छ । तर, प्रधानमन्त्रीले भने आरोप निराधार रहेको र मिथ्या प्रचार भएको भन्दै सरकारको बचाउ गरेका छन् ।

सरकारका कामबारे संवैधानिक अंगहरुहरुले अध्ययन गर्ने भन्दै उनले कामै गर्न नसक्ने वा प्रक्रिया सुरु हुन नसक्ने गरी ‘आधारहीन’ प्रश्न गर्दा काम गरिरहेकाहरुलाई निरुत्साहित गर्न खोजिएको उनले बताए ।

मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै भएको उनको भनाई छ ।