वासिंटन डिसी । विश्व स्वास्थ्य संगठन चीन परस्त भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गरेका छन् । उनले संगठनलाई अमेरिकाले दिदै आएको सहयोग समेत रोक्ने चेतावनी दिएका छन् ।
संगठनले कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको उनको आरोप छ ।
मंगलबार ह्वाईट हाउसमा नियमित प्रेस ब्रिफिंगका दौरान राष्ट्रपति ट्रम्पले अमेरिकाबाटै धेरै रकम लिइरहेको संगठनकै गलत सुझावका कारण अमेरिकामा कोरोनाको संक्रमण बढेको उनको भनाई रहेको छ ।
संगठनले चीनप्रति सदासायता राख्दै व्यवहार गरेको राष्ट्रपतिको आरोप छ । डब्लूएचओले कोरोना रोकथाममा चीनले राम्रो काम गरेको प्रतिक्रिया दिएको थियो ।
लगत्तै राष्ट्रपति ट्रम्पको कडा टिप्पणी आएको हो । यसअघि संगठनले सीमाना बन्द गर्न नहुने सुझाव दिएको स्मरण गर्दै राष्ट्रपतिले सोहीकारण संक्रमण फैलन सहयोग पुगेको बताए ।
संगठनको कुरा नमानी अमेरिकाले तत्काल नै चीनसँग हवाइ उडान रद्द गरेकै कारण अमेरिकामा संक्रमण कम भएको समेत उनले बताएका छन् ।
गत वर्षको डिसेम्बर अन्त्यमा पहिलोपटक चीनको वुहानमा कोरोना भाइरस देखिएको थियो ।
त्यसपछि जनवरी अन्त्यमा विश्व स्वास्थ्य संगठनले विभिन्न देशहरुलाई कोरोना महामारीका बावजुद पनि सीमानाका खुला राख्न सल्लाह दिएको थियो ।
हरेक देशले आफू अनुकूल नागरिकको सुरक्षा गर्न पाउने पनि उसले स्पष्ट पारेको थियो ।
त्यतिबेला नै ट्रम्पले चीनबाट अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका थिए। कोरोनाबाट अहिले अमेरिका सबैभन्दा बढी प्रभावित भइरहेको छ ।