बुटवल । प्रदेश नं ५ सरकारको निर्देशनमा कोरोनाका बेला बिरामीको सेवामा नखटिने ५ डाक्टर निलम्बनमा परेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो डेढ सातायता अस्पतालमा अनुपस्थित थिए ।
उनीहरुबारे सूचना प्रदेश सरकारमा पुगेको थियो । सरकारले बर्खास्त गर्न सिफारिस गरेसँगै अस्पतालले उनीहरुलाई सेवाबाट निकालेको हो ।
महामारीका बेला सबैभन्दा ठूलो भूमिका चिकित्सकको हुन्छ । तर, संकटकै समयमा अस्पताल नआउने चिकित्सकमाथि कारबाही थालिएको हो ।
अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला बिरामीको सेवामा नखट्ने जो कोहीलाई पनि कारवाही गरिने बताएका छन् ।
नेपालमा कोरोना देखिन थालेपछि चिकित्सक डरले सेवामा आउन छाडेका हुन् ।
अस्पतालका अनुसार रेडियोलोजी विभागमा कार्यरत डा. वरदान वली र डा. तारा प्रसाद शर्मा, युरो सर्जन डा. सुवासचन्द्र चौधरी, इएनटी विभागका डा. प्रकाश न्यौपाने, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की निलम्बनमा परेका हुन् ।
उनिहरु अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित रहेको बताइएको छ ।
चिकित्सक अनुपस्थित भएको थाहा पाएसँगै प्रदेस ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको बेलामा पनि सेवामा नखटिने चिकित्सकहरूलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
मन्त्री बरालले सुत्केरी बिदा, काजक्रिया बिदा र बिरामी बिदा बाहेकका कुनै पनि बिदा स्वीकृत नगर्न र बिना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरूलाई कारबाही गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
त्यसपछि अस्पतालले कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।